भण्डारा दुग्ध सहकारीको अध्यक्षमा ५ जनाको उम्मेदवारी

भण्डारा दुग्ध सहकारीको अध्यक्षमा ५ जनाको उम्मेदवारी

माघ ८ गते ।

चितवनमा दैनिक सर्वाधिक दुध संकलन गर्दै आईरहेको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको भावी अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन प्रक्रिया अन्र्तगत मनोनयन दर्ताका क्रममा अध्यक्षका लागि वर्तमान अध्यक्ष डिल्लीप्रसाद थपलियासहित ५ जनाले उम्मेदवारी दिएका हुन् ।

अध्यक्षका लागि थपलियासंगै तीर्थराज पाण्डे,विश्वकान्त रुवाली,थलराज पाठक र विशु प्रसाद पाठकको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत शैलेन्द्र भण्डारीले वताए । निर्वाचनमा थपलिया र रुवालीले प्यानलनै वनाएका छन् । अन्य ति उम्मेदवार स्वतन्त्र हुन् । थपलिया नेकपा निकट र रुवाली काग्रेश निकटका हुन् । उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष समेत रहेका डालवहादुर श्रेष्ठ र राजेन्द्र प्रसाद तिमल्सीनाको उम्मेदवारी परेको छ । सचिवमा वर्तमान सचिव रामचन्द्र हुमागांई र हरिकुमार दनै चुनावी मैदानमा छन् । सहसचिवमा सर्वेश्वर थपलिया र प्रकाशकुमार सेढाई,कोषाध्यक्षमा हरिमाया उप्रेती र सुवास सिलवालले उम्मेदवारी दिएका प्रमुख निर्वाचन अधिकृत भण्डारीले वताए । कार्यसमिति सदस्यमा १७ जनाको उम्मेदवारी परेको छ ।

सहकारीको लेखा समिति संयोजकमा दुई जनाको उम्मेदवारी परेको छ । संयोजकमा लक्ष्मण प्रसाद वर्तौला र चेतनाथ पाण्डे तथा सदस्यहरुमा भीमप्रसाद सिलवाल,राममणी सिलवाल र कमल मेहन सिलवालले उम्मेदवारी दिएका छन् । नयाँ नेतृत्वका लागि यही माघ २५ गतेका लागि मतदान तोकिएको छ । आगामी ४ वर्षे कार्यकालका लागि ५ जनाले अध्यक्षमा उम्मेदवारी दिएपनि वर्तमान अध्यक्ष डिल्लीप्रसाद थपलियाले सहज रुपमा चुनाव जित्ने दावी छ । राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समिति संयोजक समेत रहेका थपलियाले सहकारीको विकास र राप्तीमा पशु आहार उद्योग स्थापनाका लागि महत्वपूर्ण भुमिका खेलेका छन् । भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक ९ हजार लिटर भन्दा वढि दुध संकलन गर्दै आएको छ ।