लालपुर्जा बितरण गर्न आयोगले थाल्यो प्रक्रिया

लालपुर्जा बितरण गर्न आयोगले थाल्यो प्रक्रिया

चितवन,७ मंसिर ।

भुमी सम्बन्धि समस्या समाधान आयोगले सुकुम्बासीलाई लालपुर्जा बितरण प्रक्रिया सुरु गरेको छ । पहिलो चरणमा छनौटमा परेको रत्ननगर नगरपालिकामा आयोगले आइतबार छलफल तथा अन्तरक्रिया गरेको छ ।

कार्तिक २६ गते भूमि सम्बन्धी समस्या सामधान आयोगसंग सम्झौता गरेको सो नगरपालिकामा आइतवार देखि यसको प्रक्रिया सुरु गरेको हो ।सुकुमबासीहरुलाई लालपूर्जा वितरणको लागि तथ्याङक संकलकहरुलाई प्रशिक्षण दिइएको छ । सो कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा साँसद कृष्णप्रसाद खनालले सुकुमबासीहरुलाई बसोबासका आधारमा लालपूर्जा उपलब्ध गराउने बताए । उनले जो जहाँ बसेको छ त्यसैको आधारमा लालपूर्जा उपलब्ध गराउने गरी काम थाल्न आयोगलाई आग्रह गरे । रत्ननगरका मेयर नारायण वनले तीन महिना भित्र लालपूर्जा वितरण गर्ने गरी तयारी गरिएको बाताए ।आयोगकी सदस्य मन्जिला शाक्यले तीन बर्ष भित्र १३ लाख भूमिहीन सुकुमबासीलाई पुर्जा वितरण गर्ने आयोगको योजना रहेको बताइन ।उनले पहिलो चरणमा रत्ननगर नगरपालिका सहित ९ वटा नगरपालिका र ५ वटा गाउँपालिकामा पुर्जा वितरण हुने जानकारी दिइन । रत्ननगरका वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु, वडासचिवहरु ,राजनीतिक दलका प्रतिनिधिहरु तथा सुकुमबासी समुदायको क्षेत्रमा सक्रियाशिल संगठनका प्रतिनिधिहरुलाई तथ्याङ्क संकलनको लागि प्रशिक्षण दिइएको आयोगका प्रबक्ता भीमबहादुर कार्कीले जानकारी दिए ।

कार्यक्रममा सहभागीहरुलाई सुकुमबासीको पहिचान,तथ्याङ्क संकलन गर्ने तरिका,जग्गा नापी तथा आयोग र नगरपालिकाको काम कर्तब्य र अधिकारको विषयमा प्रशिक्षण दिइएको उनले जानकारी दिए । केन्द्रीय आयोगले राजपत्रमा सुचना प्रकाशित गरेपछि स्थानीय स्तरका सुकुमबासीको तथ्याङ संकलनको काम सुरु हुने र प्रमाणिकरणको काम सकिएपछि जग्गा नापजाँचको काम प्रारम्भ हुने आयोगका प्रबक्ता कार्कीले जानकारी दिए । यो काम तीन महिना भित्र सकेर पुर्जा वितरण सुरु गर्ने योजना रहेको उनले बताए ।

रत्ननगरमा १ हजार ५०४ घरधुरी सुकुमबासी रहेको तथ्याङक नगरपालिकासंग छ । मेयर नारायण वनको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला दुवाडीले कार्यक्रमको उद्देश्यको बारेमा प्रकास पारेकी थिइन । कार्यक्रम नगर प्रबक्ता राजेन्द्र हमालले सञ्चालन गरेका थिए । करिब एक बर्ष अघि सो नगरपालिकाले लुमन्ती आवासका लागि सहयोग समुहको सहकार्यमा सुकुमबासीको तथ्याङक संकलन गरेको थियो ।
तथ्याङक संकलन गरेकै कारण देशभरबाट १४ वटा पालिका छनौटमा पर्दा रत्ननगर पनि परेको हो ।