बाढीपीडितले अतिक्रमित जग्गामै बनाउन थाले टहरा

भजनी, ७ पुस ।

गएको साउन १४ गतेको बाढीका कारण भजनी नगरपालिका–९ मा रहेको लक्ष्मी थापाको परिवार विस्थापित हुनपुग्यो । बाढीले घरलाई क्षति पुग्यो, भएको खानेकुरा पनि सबै बगायो । त्यतिबेलै कटान गरेको कान्द्रा नदी अहिले घर नजीकै पुगिसकेको छ । “बर्सेनी नदीको कटान गर्दै अहिले घरआँगनमा पुगिसकेको छ, न अन्त कतै जाने ठाउँ छ, न त जग्गाजमीन नै”, थापाले भन्नुभयो, “सबै ज्यान जोगाउन यही अस्थायी शिविरमा आउन थाले म पनि सँगै लागेर आएँ ।”

अहिले लक्ष्मी थापाको चारजनाको परिवार भजनी नगरपालिका–१ स्थित महुन्याल सामुदायिक वनको जग्गा अतिक्रमण गरी बस्दै आएको छ । थापाजस्तै बाढीकै कारण विस्थापित भएर महुन्याल सामुदायिक वन र पशुपति सामुदायिक वनको जग्गा अतिक्रमण गरी भजनी नगरपालिकाका विभिन्न वडाका करीब ५०० भन्दा बढी परिवार बसोबास गर्दै आएका छन् । विशेषगरी नगरपालिका–३, ५, ७, ८ र ९ का अधिकांश जग्गा अतिक्रमण गरी बस्दै आएका छन् । थापाको चारजनाको परिवार घर छोडेर साउन ३१ गतेदेखि शिविरमा बस्छन् । कान्द्रा नदीले कटान गर्दै घरसम्म पुगेपछि उनीहरुले अन्य कुनै विकल्प नदेख्दा त्यही शिविरमा आएर बसेको बताउनुभएको छ ।

भजनी नगरपालिका–५ लालबोझीका हर्कबहादुर बुढा साउन १८ गते जग्गा अतिक्रमण गरी बनाइएको शिविरमा आउनुभयो । कन्द्रा नदीमा आएको बाढीका कारण घरमा बस्न सक्ने अवस्था नभएपछि उनको पाँचजनाको परिवार त्रिपालमुनि त्यही शिविरमा बस्न थाले । अहिले बुढाले त्यही अस्थायी शिविरमा खरको घरसमेत निर्माण गरिसक्नुभएको छ । केही परिवार घरमै बसे पनि आफू शिविरमै बस्ने गरेको बुढा बताउनुहुन्छ ।

“हामीलाई कुनै कुराको समस्या छैन । समस्या बर्सातको बाढीको डुबानको मात्रै हो”, बुढाले भन्नुभयो, “बर्सेनी बाढीका कारण विस्थापित हुनुपर्ने हामी भजनीवासीको बाध्यता छ । हामीलाई सरकारले केही दिनु पर्दैन । बाढीले नलाने कुनै अग्लो ठाउँमा घरबास दिए शिविर छोड्न तयार छौँ”, सरकारले अन्य कुनै व्यवस्था नगर्दासम्म आफूहरु शिविरबाट नहट्ने बताउँदै बुढाले भन्नुभयो, “हामी जस्तोसुकै कारबाही भोग्न पनि तयार छौँ तर अर्को कुनै व्यवस्थापन नहुँदासम्म हामी त्यहाँबाट जाने छैनौँ ।”

त्यस्तै भजनी नगरपालिका–९ कै अमर सुजी कोरोनाका कारण काम बन्द भएपछि असारमा भारतबाट घर फर्के । घरमा नबसी क्वारेन्टिनमा बसेका सुजी घर नपुग्दै बाढी आयो । बाढीले परिवार विस्थापित हुनुप¥यो । त्यो समयमा बाढीका कारण सुजीको घरसम्म जान सक्ने कुनै अवस्था थिएन । दुवै क्षेत्रबाट नदीले घेरा हालेको उहाँको घरसम्म जाने आँट कसैले गर्न सकेन । उहाँले क्वारेन्टिनबाटै गएर परिवारका अन्य सदस्यहरुलाई शिविरमा ल्याएर राखेको बताउनुभएको छ । “घरमा बाढीले पूरै क्षति पु¥याएको छ । नयाँ बनाउन पैसा पनि छैन”, सुजीले भन्नुभयो, “शिविरमा त्रिपालमुनि बसिरहेका छौँ । अहिलेसम्म देशमा रहेका कुनै तहका सरकारका प्रतिनिधि हामीहरुको यो समस्या बुझ्न आएका छैनन् ।”

उहाँले राहतको नाममा लाखौँ रुपैयाँ खर्च भए पनि आफूहरुले १० केजी चामलसमेत नपाएको गुनासो गर्नुभएको छ । “घरमा खानका लागि केही पनि छैन । काम पनि छैन र पैसा आउने बाटो पनि छैन”, सुजीले भन्नुभयो, “अहिले यही शिविरमा निर्माण भइरहेका खरका घरहरु निर्माणको काममा सहयोग गरिरहेको छु । देशमा काम पाइँदैन तर परिवारलाई शिविरमा असुरक्षित छोडेर बाहिर जान मनले मानेको छैन ।”

भजनी नगरपालिका–७ की आस्मादेवी डगौरा पनि त्यहीँ महुन्याल सामुदायिक वनको अस्थायी शिविरमा आफ्नो परिवारसहित बस्दै आउनुभएको छ । उहाँले बाढीले भत्काएको घर पुनःनिर्माण गरेको भए पनि केही परिवार अझै पनि शिविरमै बसेको बताउनुभयो । “हाम्रो अर्को विकल्प केही छैन । अहिले यो ठाउँ छोडेर जाउँ भने अर्को वर्ष बाढी आउँदा कहाँ जाने ?”, आस्माले भन्नुभयो, “त्यही भएर पनि यही शिविरमा खरको घर बनाएर कुरेर बसेकी छु । सबै गए त जानै पर्ला नत्र जो हामीलाई उठाउन आउँछ, त्यसको डटेर सामना गर्नेछौँ ।”

बाढीपीडितहरु अहिले अतिक्रमित जग्गामा अस्थायी घरहरू निर्माण गर्दै आएका छन् । माटोले लिपपोत गरेका काठसहित निर्माण भएका घरहरु खरले छाउने काममा स्थानीयवासी व्यस्त देखिन्छन् । स्थानीयवासी सामुदायिक वनबाट भने कुनै पनि काठ नकाटेको बताउँदै बाहिरबाटै सबै घरको सामान ल्याएर घर निर्माण हुँदै आएको बताउँछन् । अहिलेसम्म ४०० भन्दा बढी घर निर्माण भइसकेका छन् । उहाँहरुलाई राजनीतिक संरक्षणसमेत रहेको बुझिएको छ । शिविरमा बाढी आएको समयमा आएका परिवारहरुले सामूहिक बाढीपीडित सङ«घर्ष समितिसमेत गठन गरिएको छ । समितिभित्र ४०७ घरपरिवार आबद्ध रहेका छन् । अहिलेसम्म शिविरमा ५०० भन्दा बढी घरपरिवार रहेको आङ्कलन गरिएको छ । समितिको अगुवाइमा उच्च स्थानमा घरवासको माग गर्दै नगरपालिकामा धर्नाका कार्यक्रमसमेत हुँदै आएका छन् ।

समितिले प्रतिपरिवार रु सय सङ्कलन गरी अतिक्रमित जग्गामा पानीका नल पनि गाडिसकेका छन् भने भोलि कुनै पनि समस्या आउन सक्ने भन्दै प्रतिपरिवार ५०० का दरले रकम सङ्कलन गरी कोषसमेत निर्माण गरेका छन् । स्थानीयवासीले त्रिपालबाट खरका घरहरु निर्माण गर्न थालेपछि अन्य स्थानीयवासी पनि जग्गा पाइने आशामा शिविरमा आउन थालेका छन् । बाढीपीडित सङ्घर्ष उपसमिति अध्यक्ष लक्ष्मी थापाका अनुसार मङ्सिरमा मात्रै २० भन्दा बढी परिवार शिविरमा अस्थायीरुपमा बसोबास गर्न थालेका छन् । त्यस शिविर उच्च स्थानमा भएका कारण बाढी र डुबानको कुनै समस्या नहुने भन्दै बस्न शुरु गरिएको उनीहरु बताउँछन् ।

“सामुदायिक वनले भने तीनपटक सम्म यो स्थान खाली गर्न परिपत्र गरेको थियो तर यसबीचमा हाम्रो समस्या बुझ्न कोही पनि आएका छैनन्”, सोही ठाउँमा बस्दै आउनुभएका खडक बुढाले भन्नुभयो, ‘‘स्थानीय, प्रदेश र सङ्घीय सरकारका कोही पनि प्रतिनिधिहरु आएका पनि छैनन् र हामीलाई उठाउन कोही आउँछ भने त्यसको डटेर सामना गर्छौं, अर्को विकल्प नहुँदासम्म हामी अन्त कतैै जाँदैनौँ ।”

भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले अहिलेसम्म शिविर खाली गर्न आफूहरुले कुनै प्रक्रिया अगाडि नबढाएको बताउनुभएको छ । “त्यो बेलाको परिस्थिति भयावह नै थियो । हामीले कसैलाई रोक्न चाहेनौँ र रोकेनौँ पनि”, नगरप्रमुख चौधरीले भन्नुभयो, “अब के गर्ने भन्ने विषयमा सर्वदलीय बैठक बोलाउने तयारीमा छौँ, त्यसबाट जे निर्णय हुन्छ, त्यसैअनुसार अगाडि बढ्छौँ ।” उहाँले स्थानीय तहले मात्र चाहेर बाढीपीडितहरुको समस्या समाधान गर्न नसकिने बताउँदै त्यसका लागि सङ्घ र प्रदेश सरकार पनि जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । उहाँले बाढीका कारण पूर्ण क्षति भएका ५६ परिवार रहेको बताउँदै अन्यको आंशिक क्षति भएको भन्दै शिविर खाली गरी बाढीपीडितको उचित व्यवस्थापनका लागि विकल्प खोजिने बताउनुभयो ।

उता कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने जनप्रतिनिधिहरुसँग समन्वय गरी अस्थायी शिविरमा बस्दै आएका स्थानीयवासीलाई हटाइने बताउनुहुन्छ । उहाँले बाढीको समयमा सहमतिअनुसार नै केही दिनका लागि शिविरमा बसेकाहरुले त्यसैअनुसार सरकारी जग्गा खाली गर्नुपर्ने बताउनुभएको हो । “त्यहाँ बसेकाहरुको लगत छ, त्यहीअनुसार सबैलाई फर्काइने हो”, प्रजिअ बोहराले भन्नुभयो, “सार्वजनिक जग्गा अतिक्रमण गरी बस्न पाउने अधिकार कसैलाई छैन । हामी बल प्रयोग गरेर भए पनि खाली गराउँछौँ ।” उहाँले नगरपालिकासँग समन्वय गरी केही दिनका लागि बस्न दिइएको अतिक्रमण भएको जग्गा खाली गरिने बताउनुभयो । उहाँले नगरपालिकासँग शिविर उठाउने विषयमा छलफल भइरहेको बताउँदै अबको केही दिनभित्रै शिविर खाली गरिने बताउनुभयो ।

यस वर्ष बाढीपहिराका कारण कैलालीमा तीनजनाले ज्यान गुमाएका छन् । बाढी, पहिरो र डुबानका कारण दुई हजार ९०१ घरधुरी विस्थापित भएका छन् भने नौ हजार ५२१ घरधुरी प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी यज्ञराज जोशीले बताउनुभएको छ । बाढीले कैलाली भजनी नगरपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिका, जोशिपुर गाउँपालिका र पहिराको कारण चुरे गाउँपालिकामा बढी क्षति भएको सूचना अधिकारी जोशीले बताउनुभयो । विस्थापित भएकाहरु हुलाकी राजमार्गको सडकमा आएर केही दिन बसेका थिए भने पछि केही सामुदायिक वनको जग्गा अतिक्रमण गरी अस्थायी शिविरमा बसे भने केही आफ्नो घर फर्किएका छन् ।रासस