कोरोनाभाइरस: चीनको वुहानबाट उद्दार गरि ल्याइएका नागरिक चढेको बसहरुमाथि आक्रमण

कोरोनाभाइरस:  चीनको वुहानबाट उद्दार गरि ल्याइएका नागरिक चढेको बसहरुमाथि आक्रमण

एजेन्सी,१० फागुन।

युक्रेनको मध्य–क्षेत्रमा रहेको सहर नोभी स्यान्झारीका स्थानीयले चीनको वुहानबाट उद्दार गरिएका मानिस सवार बसमा आक्रमण गरेका छन् । ती बसमा ४५ युक्रेनी र २७ विदेशी सवार थिए भने उनीहरुको लागि नोभी स्यान्झारी सहरमा क्वारेन्टाइन बनाइएको थियो । युक्रेनमा हालसम्म एक जनामा पनि कोरोनाभाइरसको संक्रमण भेटिएको छैन । तर वुहानबाट फिर्ता गरिएका मानिसमाझ संक्रमित पनि रहेको हल्ला फैलिएपछि नोभीवासी क्रुद्ध भएका थिए ।

स्वास्थ्य मन्त्रालयको दावी गरिएको एक फेक इमेलमा उहानबाट ल्याइएका मानिसहरु संक्रमित रहेको झुटो दावी थियो । स्थानीयबासी र प्रशासनबीच बिहीबार दिनभरी झडपको माहोल देखिएको थियो । उद्धार गरिका व्यक्ति बोकेको बसको कन्भो हिँड्ने सडकमा मानिसले टायर बालेर विरोध गरेका थिए । त्यस्तै सहर पस्ने पुलमा पनि मानिसले अवरोध गरेर बसेका थिए । पछि बसहरु आएपछि पनि तीमाथि ढुंगामुढा गरिएको थियो ।

उद्धार गरेका मानिस रहेका दुई वटा बाहनका सिसा फुटेका छन् । बसको सुरक्षाको लागि सयौं दंगा प्रहरी खटाइएको थियो ।हिंसात्मक विरोधको बावजुद वुहानबाट फिर्ता गरिएको मानिस बोकेका सबै गाडि निर्धारित क्लिनिकमा पुगेका छन् । ती मानिसहरु त्यहाँ दुई हप्ता त्यहाँ निगरानीमा बस्छन् ।

राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले प्रदर्शनकारीलाई मानिसको रुपमा अर्को मानिसप्रति करुणा प्रदर्शन गर्न आह्वान गरेका थिए ।

तर राष्ट्रपतिको आग्रहले मानिसलाई शान्त पार्न सकेन । युक्रेनी जनतामाझ आफ्ना सरकारप्रतिको विश्वसनीयता अत्यन्त कम छ । देशको कमजोर स्वास्थ्य प्रणाली र भ्रष्टाचारले राजनीतिज्ञ र राज्यप्रति अत्यन्त कम विश्वास देखिन्छ ।