अब भारतको कोरोना प्रभावित ७५ जिल्लामा मार्च ३१ सम्म ‘लकडाउन’
नयाँ दिल्ली,९ चैत्र ।
भारतका कोरोना भाइरसबाट बढी प्रभावित ७५ जिल्ला ‘लकडाउन’ गरिएका छन् । अधिकारीहरुका अनुसार मार्च ३१ सम्मका लागि आइतबारदेखि ७५ वटा जिल्लामा रेल, मेट्रो र आन्तरिक सवारीका लागि प्रयोग गरिने यातायातका साधनहरुको आवतजावतमा प्रतिबन्ध लगाइएको हो ।
भारतमा कोरोना संक्रमितको संख्या ३७० पुगेको छ । आइतबार बिहार र महाराष्ट्रमा कोरोना संक्रमित दुईजनाको मृत्यु भएको छ । हाल भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
यसअघि सम्पूर्ण राज्यका मुख्य सचिवहरुको आकस्मिक बैठकपछि ७५ जिल्लामा लकडाउन गर्ने निर्णय गरिएको हो । ‘कोभिड-१९ को संक्रमण तीव्ररुपमा फैलिरहेकोले आकस्मिक रुपमा यस्तो निर्णय गरिएको हो । अत्यावश्यकबाहेकका यात्राहरुका लागि अन्तर-राज्य यातायात सेवासमेत ३१ मार्चसम्म अवरुद्ध गरिएको छ,’सरकारले जारीको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा थप भनिएको छ, ‘विभिन्न राज्य सरकारका प्रतिनिधिहरुबीचको बृहत बैठकपछि अत्यावश्यकबाहेक सेवा बन्द गर्ने सहमति भएपछि कोरोनाको संक्रमण देखिएका र मानिसको मृत्यु भएका ७५ जिल्लामा लकडाउन गरिएको छ ।’
भारतीय रेलसेवाले यसअघि नै मार्च ३१ सम्म सुविधा बन्द गर्ने घोषणा गरेको थियो । – हिन्दुस्तान टाइम्स