लुमन्तीले विपन्न समुदायमा गरेको कामको समिक्षा
चैत ९ गते । रत्ननगरको सुकुम्वासी तथा विपन्न समुदायमा लुमन्ती आवासका लागि सहयोग समुहले पछिल्लो ६ महिनामा गरेका क्रियाकलापको आईतवार समिक्षा गरिएको छ । रत्ननगरमा लुमन्ती आवासका लागि सहयोग समुहले नगरपालिकासंग सहकार्य गरेर विपन्न समुदायमा सचेतना फैलाउनेदेखी आवास निर्माणको काममा सहयोग गर्दै आएको छ । समिक्षामा लुमन्ती रत्ननगरका संयोजक सिंहवहादुर लामाले पछिल्लो ६ महिना गरिएको कामको प्रगति विवरण पेश गरेका थिए । लामाका अनुसार यो अवधिमा रत्ननगर ८ वगरटोलमा १० घर परिवारका लागि आवास निर्माण भईरहेको छ । एलानी जग्गामा वसेका उनीहरुले लुमन्ती र रत्ननगर नगरपालिकाले स्थापना गरेको शहरी गरिव सहयोग कोषबाट ऋण लिएर घर निर्माण सुरु गरेका हुन् । यसअघि सोही कोष मार्फत माझी मुसहर टोल र लौरीघोलमा आवास निर्माणको काम भईसकेको छ । आवास निर्माणवाहेक पछिल्लो ६ महिनामा लुमन्तीले सरसफाई सम्वन्धी सचेतना फैलाउने लगायतको काम गरेको संयोजक लामाले वताए ।
सो अवसरमा रत्ननगरका मेयर नारायण वनले लुमन्तीले नगरपालिकासंग सहकार्यमा प्रभावकारी काम भएको भन्दै विपन्न तथा गरिव समुदायको आयआर्जनका कार्यक्रमलाई जोड दिनु पर्ने सुझाव दिए । लुमन्तीले विगत ८ वर्षदेखी रत्ननगरमा काम गर्दै आएको छ । रत्ननगर खानेपानी संस्थाका अध्यक्ष भीष्म पौडेलले विपन्न तथा सुकुम्वासी समुदायलाई ५० प्रतिशत छुटमा खानेपानीको धारा जडान गर्दै आएको वताए । लुमन्ती र नगरपालिकाका पदाधिकारीहरु,पत्रकारहरुको उपस्थितीमा समिक्षा गरिएको थियो ।