अमेरिकाले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीविरुद्ध हाल्यो मुद्दा

अमेरिकाले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीविरुद्ध हाल्यो मुद्दा

कोरोना भाइरसको महामारीका लागि चीन जिम्मेवार भएको भन्दै अमेरिकाको मध्यपश्चिमी राज्य मिसौरीले चीन सरकारविरुद्ध सिभिल (नागरिक) मुद्दा दायर गरेको छ।

मंगलबार चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र अन्य चिनियाँ अधिकारी र संस्थाहरू विरुद्ध अदालतमा मुद्दा दायर गरेका मिसौरीका महान्यायधिवक्ता एरिक स्मिटले चीनले भाइरसको फैलावट रोक्न कुनै पहल नगरेको आरोप लगाएका छन्।

जसका कारण मिसौरीका नागरिकले करोडौं डलरको आर्थिक क्षति व्यहोर्नुपरेको उनको भनाई छ।

ुमिसौरीमा भाइरसको प्रभाव एकदम वास्तविक छ। हजारौं संक्रमित भएका छन्। धेरै मरेका छन्। परिवारहरू र प्रियजनहरू शोकमा छन्। साना व्यवसायहरूले उनीहरूको ढोका बन्द गरिरहेका छन्। बाँच्नेहरू खान संघर्ष गरिरहेका छन्,ु उनले भनेका छन्।

चिनियाँ सरकारले कोभिड १९ को खतरा र संक्रामक प्रकृतिको बारेमा विश्वमा झुठो विवरण दिएको, रोगको फैलावट रोक्न केही गर्न नसकेको उनको आरोप छ। ‘यो लापरवाहीका लागि चीन सरकार जिम्मेवार हुनुपर्छ,’ उनले भने।

यो मुद्दा यस्तो समयमा दर्ता गरिएको छ कि पुरै अमेरिकाले कोरोना महामारीलाई लिएर चीनमाथि औला उठाइरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि बारम्बार प्रश्न उठाउँदै आएका छन्। उनले चीनले भाइरस फैलाएको भेटिए परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका छन्। यो महामारीका लागि चीन नै जिम्मवार रहेको उनको भनाई छ।