‘भारतसँगका नाका तत्काल खुल्ने कुरै छैन, लकडाउन खुकुलो हुनसक्छ’- प्रधानमन्त्री ओली

‘भारतसँगका नाका तत्काल खुल्ने कुरै छैन, लकडाउन खुकुलो हुनसक्छ’- प्रधानमन्त्री ओली

काठमाडौं,१० वैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग जोडिएको नेपालको सीमा नाका तत्काल नखुल्ने संकेत गरेका छन् । भारतमा कोरोना संक्रमणको अवस्था अन्त्य नभएसम्म सिमाना नखुल्ने प्रधानमन्त्रीले बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका संघीय सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्रीले लकडाउनको मोडल परिवर्तन हुनसक्ने बताए । प्रधानमन्त्रीले संक्रमण नदेखिएका ठाउँमा लकडाउन खुकुलो हुने संकेत गरेको छलफलमा सहभागी एक सांसदले अनलाइनखबरलाई बताए ।

भारतसँगको सिमाना भने अहिले नखुल्ने र जो जहाँ छन् त्यहीँ रहनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्रीले हालै जारी दुई अध्यादेशबारे पनि सांसदहरूलाई अन्यौल र भ्रममा नरहन आग्रह गरेको छलफलमा सहभागी डोटीका सांसद प्रेम आलेले बताए ।

अध्यादेश आवश्यकता परेरै जारी भएको र यसमा अरू कुनै आशंका गरिरहनु नपर्ने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीसँग केही सांसदले पछिल्ला अवस्थाको बारेमा जिज्ञासा राखेका थिए ।