पश्चिम सेक्टरमा सुरक्षा चुनौती बढ्याे – चितवन निकुञ्ज

चितवन, ८ मङ्सिर ।

शंकास्पद व्यक्तिहरुलाई भगाएपछि चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीमा सुरक्षा चुनौती बढेको निकुञ्जले बताएको छ ।

मंसिर ६ गते राति १२ः१५ बजेको समयमा निकुञ्जको कोर इलाका नारायणी नदीको गोहिघाट आईल्याण्ड क्षेत्रबाट मध्यरातमा गैरकानूनी तवरबाट निषेधित तयारी जाल (गोहि तथा जलचरलाई अत्यन्त घातक जाल) प्रयोग गरि निषेधित समयमा माछा मार्ने तथा झुप्रा बनाई संवेदनसिल क्षेत्रमा बसेर शंकास्पद गतिविधीमा संलग्न देखिएपछि निकुञ्जले ३१ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुलाई स्थानिय जनप्रतिनिधीहरु समेतको सहयोग तथा उक्साहटमा आइतबार निकुञ्ज सेक्टर कार्यालय अमलटारीमा तोडफोडको प्रयास गरी हुलहुज्जत गरी भगाएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए ।
मध्यरात र चिसोे मौसममा समेत निषेधित तथा गैँडाको बासस्थान र संवेदनशिल क्षेत्रमा माछा मार्ने निहुँमा भएको उक्त प्रवेशले सो क्षेत्रमा थप सुरक्षा निगरानी बढाईएको उनको भनाइ छ । पक्राउ परेर भागेका मध्य २ जना मध्यविन्दु नगरपालिका ३ का र अन्य २९ जना कावासोती नगरपालिका वडा नं १५ का बोटे, माझि र मुसहर रहेको र निजहरुलाई यथासक्य चाडो खोजी गरि पुन कानुनी दायरामा ल्याई आवश्यक अनुसन्धान तथा कारबाही अगाढी बढाईने उनले बताए ।

‘यस आवमा गैँडा चोरी शिकार भएको क्षेत्रकै घाटबाट अवैध क्रियाकलापमा संलग्न रहेकोले पक्राउ गरिएको र घटनाको विषयमा जाचबुच तथा आवश्यक सोधपुछसमेत गर्न नदिईकनै हुलहुज्जत गरी भगाउदा सो क्षेत्रमा सुरक्षा चूनौती थपिएको छ’ उनले भने ।
चोरी शिकारीलाई समेत नदीमा वारपार गराउन प्रयोगमा आएका आशंका गरिएका १३ वटा डुङ्गाहरु नष्ट गरिएको उनले बताए ।