खैरहनिमा चेक पोइन्ट र घुम्ती शौचालय

चितवन, ८ पुष ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि चितवनको खैरहनिमा ट्राफिक चेक पोइन्ट राखिने भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत खैरहनी ९ बैरहनिमा चेक पोइन्ट राख्ने निर्णय भएको हो । चेक पोइन्ट राख्ने विषयमा बुधबार खैरहनी नगरपालिका, खैरहनी १ र ८ वडा कार्यालय, उद्योग बाणिज्य संघ खैरहनी, चितवन उद्योग संघ खैरहनी इकाइ, नेपाल चेम्बर अफ कमर्स खैरहनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय खैरहनी बीच बैठक भएको थियो ।
खैरहनी नगरपालिका मेयर लालमणी चौधरीको अध्यक्षतामा बसेको बैठकले पुर्वबाट आउने सवारी साधन चेकिङका लागि बैरहनी चोक नजिक ट्राफिक चेक पोइन्ट राख्ने निर्णय गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले जानकारी दिए । चेक पोइन्टका लागि आवश्यक कालोपत्रे निर्माणका लागि डिभिजन सडक कार्यालय भरतपुरलाई अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ ।

त्यसबाहेक अन्य संरचना निर्माणको काम नगरपालिका, उद्योग बाणिज्य संघ,चितवन उद्योग संघ र चेम्बर अफ कमर्सबिच सहकार्य गरेर निर्माण गरिने भएको छ । बैठकले खैरहनी १ तरकारी चोकमा प्रहरी बिट राख्ने निर्णय समेत गरेको छ ।
त्यस्तै बैठकले खैरहनीको पर्सा बजार चोक र मगनी चोकमा घुम्ती शौचालय राख्ने निर्णय गरेको छ । सवारीमा यातायात गर्ने यात्रु र किनमेलका लागि आउने ग्राहकलाइ ध्यानमा राख्दै खैरहनिको दुई ठाउँमा घुम्ती शौचालय राख्ने निर्णय गरेको हो । नगरपालिकाले दुई वटा घुम्ती शौचालय खरिद गरेर ल्याइसकेको छ ।

बैठकमा उपमेयर सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत न्यौपाने, खैरहनी १ का वडा अध्यक्ष भुमी प्रसाद कंडेल, ८ का वडा अध्यक्ष टेकबहादुर थापा, उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, महासचिव कुमार खनाल, कोषाध्यक्ष रामेश्वर बर्तौला, चितवन उद्योग संघ खैरहनी इकाई अध्यक्ष प्रतिभा श्रेष्ठ, चेम्बर अफ कमर्स खैरहनी अध्यक्ष प्रकाश श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्ट, ईलाका प्रहरी कार्यालय खैरहनिका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगर, नगरपालिका इन्जिनियर सुमन श्रेष्ठको उपस्थिति रहेको थियो ।