अमेरिकामा दुई नेपालीलाई कोरोना संक्रमित
काठमाडौं, १० चैत ।
अमेरिकाको न्यूयोर्क राज्य बस्दै आएका दुई जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुवै जनालाई अहिले कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । दुई जनामध्ये ५० वर्षीय एक नेपालीको अवस्था गम्भीर रहेको छ ।
पुष्टि भएकामध्ये ४७ वर्षीय एक नेपालीले न्यूयोर्कमा उबर नामक ट्याक्सी चलाउँदै आएका थिए । पारिवारिक स्रोतकाअनुसार उबर चलाउने उनलाई शुरुमा उच्च ज्वरो आएपछि अस्पताल पुर्याइएको थियो । चिकित्सकको सल्लाह बमोजिम चार दिनपछि फलोअपका लागि अस्पताल पुग्दा उनको अक्सिनको लेबल कम भएको र निमोनिया देखिएको जनाइएको छ ।
उनकी श्रीमतीका अनुसार कोरोना संक्रमणपछि परिवारको स्विकृतिमा अस्पतालले नशाबाट दिइने सेन्टरलाइन औषधी चलाएको छ । उनले प्रेसरको औषधी प्रयोग गर्दै आएका थिए तर उनलाई अन्यरोगको समस्या भने नरहेको बताइएको छ ।
यस्तै आइतबारनै न्यूयोर्क राज्यमै बसोबास गर्ने अर्का एक ५० वर्षीय नेपालीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई पनि उच्च ज्वरो आएपछि अस्पताल पुर्याइएको थियो। उनको अवस्था अहिले गम्भीर रहेको र श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको जनाइएको छ ।
अस्पताल भर्ना भएका ५० वर्षीय ती नेपालीका छोराले दिएको जानकारीअनुसार उनलाई पहिले देखिनै मधुमेहको समस्या थियो । परिवारका सबै सदस्यको कोरोना चेकअप गरिएको र उनीहरुको मंगलबारसम्म रिर्पोट आउने बताइएको छ । परिवारका बाँकी सदस्य भने घरमै बसिरहेका छन् ।