कैलालीमा २ बजेदेखि निषेधाज्ञा जारी
धनगढी, १० चैत्र ।
कोरोना भाइरसको रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले अहिले २ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
संघीय सरकारको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका पनि सबै नाका बन्द भइसकेको अवस्थामा कैलालीमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।
सोमबार बिहानै देखि सुदूरपश्चिम प्रदेशका मुख्य शहर कैलालीको धनगढी, अत्तरिया, टीकापुर तथा कंचनपुरको महेन्द्रनगर बजार पूर्ण रुपमा बन्द रहेका छन् ।
भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै भारतको सीमा नाकासँग जोडिएका यी शहरहरुमा आवात जावत देखि हिँडडुलमा कडाई गरिएको छ । यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यू नै जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालका लागि ‘कर्फ्यू’ आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले कोरोना भाइरस संक्रमणको जोखिमका बेला भीड अनियन्त्रित भएकोले जिल्लाभर ‘कर्फ्यू’ आदेश जारी भएको बताए ।