सरकारले कोरोना सङ्क्रमितलाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी उपचार गर्ने
काठमाडौं,१० चैत्र
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताएका छन् ।
मन्त्रालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पनि कोभिड–१९ का बिरामी भेटिए सरकारले निःशुल्क उपचार गर्नेसमेत बताए । ‘कुनै व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिए हामी हवाईमार्ग वा स्थलमार्गबाट त्यस्ता व्यक्तिको सुरक्षितरूपमा उद्धार गरेर अस्पताल लगेर उपचार गछौँं,’ उनले भने ।
उनले नेपालमा पनि कोरोना पोजेटिभ देखिएपछि थप सावधानी अपनाउनुपर्छ भन्दै कोभिड–१९ पोजेटिभ देखिएपछि नेपाल अब ग्रीनजोनमा नरहेको समेत बताए । ‘हिजोसम्म हामी ग्रीन जोनमा रहेका थियौं,ु उनले भने, ुकोभिड–१९ पोजेटिभ देखिएपछि हामी अब धैर्य गरेर थप सावधानी अपनाउनुपर्छ ।’ फ्रान्सबाट नेपाल आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ देखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका थिए । गत मंगलवार आएकी उनको परीक्षणका क्रममा कोभिड–१९ पोजेटिभ देखिएपछि आइतवार बेलुका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।
मन्त्री ढकालले विगतमा पनि कोभिड–१९ पोजेटिभ देखिएको र १० दिनको उपचारपछि नेगेटिभमा परिणत भएको हो भन्दै अहिले देखिएका व्यक्तिलाई उपचारपछि नेगेटिभ परिणत गराइने प्रतिबद्धता व्यक्त गरे । उनले कोरोना भाइरस परास्त गर्न नेपालीले देखाएको दृढताप्रति सराहना गर्दै कोभिड–१९ पोजेटिभ देखिएपछि अझ सावधानी अपनाउनुपर्ने बताए ।
उनले कोभिड–१९ पोजेटिभ देखिएका व्यक्तिका सम्पर्कमा रहेका परिवार तथा साथीभाइ पनि क्वारेन्टाइनमा राखी उपचार गरिने जानकारी दिए । ‘उहाँको परिवारलाई समेत होम क्वारेन्टाइनमा राखिएको छ । फ्रान्सबाट आएका साथीभाइको पनि हामीले खोजी गरिहेका छौं,’ उनले भने, ‘उहाँहरू सबैलाई क्वारेन्टाइनमा राखी उपचार गर्छौं ।’