बर्दियामा १ जना आइसोलेसन र ६ जनालाई क्वारेन्टाइनमा राखियो
बर्दिया,१० चैत्र ।
छिमेकी मुलुक भारतबाट लुकीछिपि नेपालभित्र प्रवेश गरेका ७ जनालाई बर्दियाको सदरमुकाम गुलरियाबाट आइतबार बेलुकी नियन्त्रणमा लिई जाँच सुरु गरिएको छ ।
भारतबाट लुकिछिपि बर्दियाको सदरमुकाम गुलरिया प्रवेश गरेका ७ जनामध्ये एक जनालाई अत्याधिक ज्वरो आएको पाइएपछि बर्दिया जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । बाँकी ६ जनालाई सदरमुकाम गुलरियामा रहेको क्वारेन्टाइनमा पठाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । लुकिछिपि प्रवेस गरेपछि उनीहरुमाथि निगरानी गर्न एक जनालाई आईसुलेसन र बाँकीलाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।
अलि बढी ज्वरो आएका बिरामीको ज्वरो अहिले बिस्तारै घट्दो क्रममा रहेको उनले बताए । उनीहरुको स्वाब परिक्षणका लागि विश्व स्वास्थ्य संगठनसंग सम्पर्क गरिएको छ, ज्वरो नियन्त्रण नआएमा कोरोना भाइरस परीक्षण गर्न काठमाडौँ पठाइने प्रजिअ लामिछानेले बताए ।
अत्याधिक ज्वरो आएका बिरामी भेटिएपछि बर्दियामा झनै उच्च सर्तकता अपनाइएको छ । भारतीय सिमावर्ती क्षेत्रमा अत्यावश्यक काम बाहेक आवतजावतमा रोक लगाइएको छ । आवतजावत गर्नै परे तोकिएको स्थानबाट स्वास्थ्य परीक्षण गराएर मात्र आवतजावत गर्न पाउने व्यवस्था गरेको छ ।
बर्दियाका ६ नगरपालिका २ गाउँपालिका गरि ८ वटै स्थानीय तहले अत्यावश्यक सेवा प्रवाह बाहेक अन्य सार्वजनिक सेवाहरु बन्द गराएका छन । खाद्यन्न पसल, फलफुल तथा तरकारी र मेडिकल बाहेक अन्य सबै पसलहरु बन्द गरिएको छ । बस, ट्रक, तिन पाङ्ग्रे अटो रिक्सा लगायत सबै यातायातका साधन चल्न पनि रोक लगाइएको छ भने बजार क्षेत्रमा भिड नर्गन प्रहरी खटिएर अनुरोध गरेको छ ।
स्थानीय तहका प्रमुखहरुले नगरबासीका नाममा सम्बोधन गर्दै अप्ठ्यारो परिस्थितीमा सजग र संयम रहन सबैमा आग्रह गरेका छन् । सबै स्थानीय तहले आइसोलेसन वार्ड र क्वारेन्टाइन व्यवस्थापन गरिरहेका छन् । भारतसँग सीमा जोडिएकाले भारतीय सिमा क्षेत्र र अरु नगरपालिकाले आफ्नो नगरको सीमा क्षेत्रमा हेल्थ डेस्क स्थापना गरि आफ्नो क्षेत्रमा भित्रिने व्यक्तीको स्वास्थ्य परिक्षण गरिरहेका छन् ।
यसैबिच जिल्ला प्रशासन कार्यालय बर्दियाले बर्दियाबाट हुने अत्यावश्यक सेवा वाहेक अन्य सम्पुर्ण सेवा प्रवाह अर्को सुचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको छ । उक्त सुचना पश्चात सबै स्थानीय तहहरुले पनि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेका छन् ।