कोरोना अपडेट: भारतमा ८ जनाको मृत्यु

कोरोना अपडेट: भारतमा ८ जनाको मृत्यु

काठमाडौं,१० चैत्र ।

भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

सोमबार मुम्बईमा फिलिपिन्सबाट आएका ६८ वर्षीय व्यक्तिको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको हो ।

यी व्यक्तिमा शुरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । तर, उनी यो संक्रमणबाट निको भएका थिए । सोमबार उनको मुम्बईस्थित एक अस्पतालमा मृत्यु भएको हो ।

कोरोना भाइरसको कारण मुम्बईमा मात्र तीन जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतको सरकारले भने उनको मृत्यु कोरोना भाइरसकै कारण गएको हो भन्ने पुष्टि गरेको छैन ।

उनलाई पहिला नै दम र मधुमेहको रोग रहेको बताइएको छ । भारतमा यो भाइरसको संक्रमण अहिलेसम्म ४२५ जनामा देखिएको छ ।

सोमबार भारतीय अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा मात्र १५ नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये १४ नयाँ संक्रमित मुम्बईमा देखिएका छन् भने एकजना पुणेमा फेला परेका हुन् ।

पछिल्लो एक सातामा भारतमा कोरोना भाइरसको प्रकोप तीव्र गतिमा फैलिएको छ । आइतबार भारतमा यो भाइरस नियन्त्रणको लागि जनता कन्फ्रू घोषणा गरी सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरिएको थियो ।