दुई साताअघि नेपाल भ्रमणमा आएकी मिस वर्ल्डकी अध्यक्षलाई कोरोना
काठमाडौं, १० चैत ।
दुई साताअघि नेपाल भ्रमणमा आएकी मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्लेमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। अध्यक्ष जुलिया मोर्लेको कोराना परीक्षणमा पोजेटिभ देखिएको मिस वर्ल्डले जनाएको छ।
मोर्लेलाई कोरोना भएको समाचार समाजिक सञ्जालमा भाइरल बनेपछि मिस वर्ल्डले आफ्नो आधिरिक वेभसाइटमार्फत चैत ८ गते यसको पुष्टी भएको जनाकारी दिएको थियो।
‘कोरोना संक्रमण देखिएको छ, तर, मेरो स्वास्थ्य राम्रो छ,’ मोर्लेले मिस वर्ल्डको वेवसाइटलाई भनेकी छन्। मोर्ले लन्डनमा क्वारेन्टाइनमा बसेकी छिन्। ८१ वर्षीया मोर्ले १० वर्षदेखि मिस वर्ल्डकी अध्यक्ष रहँदै आएकी छिन्।
मिस वर्ल्ड टोनी एन सिंह, निर्देशक स्टिभ डग्लससँगै मोर्ले फागुन २२ गते नेपाल आएकी थिइन्। नेपालमा तीन दिन बिताएर उनी २४ गते इंग्ल्यान्ड फर्किएकी थिइन्। मिस नेपाल आयोजक हिडन ट्रेजर तथा पर्यटन मन्त्रालयको समन्वयमा उनीहरु नेपाल आएका थिए।
उनीहरूले मकवानपुरमा पूर्वमिस नेपाल श्रृंखला खतिवडाको शिक्षा सम्बन्धी परियोजना अवलोकन गरेका थिए। यस्तै उनीहरुले सिन्धुपाल्चोकको हेलम्बुमा पूर्वमिस नेपाल अनुस्का श्रेष्ठले सुरु गरेको स्वास्थ्य सम्बन्धी परियोजनाको पनि अवलोकन गरेका थिए। सोही क्रममा उनीहरुले हेलम्बुमा निर्माणाधिन हिमालयन ग्रेट ट्रेलको पनि अवलोकन गरेका थिए।
सिन्धुपाल्चोक र मकवानपुर जानुअघि उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग पनि भेट गरेका थिए।