विद्युत महसुल ढिला तिर्दा अब जरिवाना नलाग्ने, अनलाइनबाट तिर्न अपील
काठमाडौं,१० चैत्र ।
कोरोना भाइरसको असरका कारण विद्युत महसुल तिर्न ढिलाई भएमा अब जरिवाना शुल्क नलाग्ने भएको छ । सरकारले विद्युत महसुल तिर्न नेपाल विद्युत प्राधिकरणका विलिङ काउन्टरमा लाग्ने भिड कम गर्न महसुल तिर्न ढिलाई हुँदाको जरिवाना शुल्क मिनाहा गर्ने निर्णय गरेको हो ।
गृहमन्त्रालयमा बिहीबार बसेको बैठकले विद्युतका उपभोक्ताका लागि महसुल तिर्न ढिलो गर्दा लाग्ने जरिवाना छुट दिने निर्णय गरेको हो । मन्त्रालयले विद्युत महसुलको जरिवानामा सहुलियत दिइने हुँदा भिडभाडमा जडान सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।
यता विद्युत प्राधिकरणले पनि अनलाइनबाट विद्युत महसुल तिर्न उपभोक्तामा अनुरोध गर्दै आएको छ । प्राधिकरणले महसुल काउन्टरमा लाग्ने भिड नियन्त्रण गर्न अनलाइन सेवा उपयोग गर्न उपभोक्ता वर्गमा आग्रह गरेको हो । प्राधिकरणले इन्टरनेटको सेवा पुगेका जिल्लाका सबै उपभोक्तामा अनलाइनको सुविधा लिन भनेको छ ।
प्राधिकरणले २०७४ भदौ ५ गतेदेखि अनलाइन पेमेन्ट प्रणाली लागु गरेको छ। ग्राहकले आफूलाई पायक पर्ने पेमेन्ट काउन्टर वा बैंक खाताबाट महसुल तिर्न सक्ने प्राधिकरणले जनाएको छ । अनलाइन पेमेन्ट प्रणालीप्रति ग्राहकको आकर्षण बढेकाले पछिल्लो समय प्राधिकरणका महसुल संकलन काउन्टरमा लाग्ने भिड पनि घटिरहेको थियो ।
अनलाइन महसुल भुक्तानी गर्न प्राधिकरणले सेवा प्रदायकसँग सम्झौता गरेको छ । इ(सेवा, सिएफएस एक्सप्रेस, पे पोइन्ट नेपाल, सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट ग्राहकले महसुल तिर्न सक्दछन् ।
यस्तै, प्रभू, नेपाल इन्भेष्टमेन्ट, हिमालयन र महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ सुविधामार्फत अनलाइनबाट महसुल तिर्न सक्दछन् । ग्राहकले आफ्नो खाता रहेका एनआइसी एसिया, एनएमबी, सिद्धार्थ, माछापुच्छ्रे, वाणिज्य, ग्लोबल आइएमई बैंकबाट पनि महसुल तिर्न सकिनेछ । अनलाइनबाट महसुलत तिर्न ग्राहक परिचयपत्र र वितरण केन्द्र नम्बर राखेर फारम भरेपछि प्राधिकरणको बैंक खातामा रकम जम्मा हुन्छ ।