भोलिदेखि जनकपुरको बजार बन्द

भोलिदेखि जनकपुरको बजार बन्द

जनकपुरधाम,१० चैत्र 

खतरनाक कोरोना भाइरसबाट जोगिन भोलि (मङ्गलबार)देखि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम बजारसमेत बन्द हुने भएको छ।

उद्योग वाणिज्य संघले जनकपुरधाम बजार बन्द गर्ने निर्णय गरेको हो। संघका महासचिव जीतेन्द्र महासेठले कोरोना भाइरसबाट जोगिन बजार बन्द गर्ने निर्णय भएको जानकारी दिए। उनले अत्यावश्यक बाहेकका पसलहरू बन्द गर्न विज्ञप्तिमार्फत आह्वान समेत गरिएको बताए।

उनका अनुसार औषधी पसल, खाद्यान्न, ग्यास बिक्री केन्द्र लगायतका अत्यावश्यक पसलहरू मात्र भोलिदेखि सञ्चालनमा रहनेछ। अहिले बजारमा अत्याधिक भिडभाड भइरहेकाले जोखिम बढेपछि बजार बन्द गर्ने निर्णय गरिएको उनको भनाइ छ।

यस्तै, संघले आज जनकपुरधामका विभिन्न २० ठाउँमा हातधुन साबुन पानीको व्यवस्था मिलाएको छ। संघले १ हजार निःशुल्क मास्क सर्वसधारणलाई वितरण गरेको छ।