भारतबाट आएका नेपालीहरु क्वारेन्टाइनबाट भागे
नेपालगञ्ज,१० चैत्र
नेपालगञ्ज-स्थानीय प्रशासनले क्वारेन्टाइन बनाएर स्थानीय महेन्द्र बहुमुखी क्याम्पसमा राखेका मानिस भागेका छन्।
भारतबाट नेपाल भित्रिएका उनीहरुलाई हेल्थ डेस्कमा जाँच गर्दै मास्क लगाउन लगाइ सावुन पानीले हात धुवाएर नगर बसमा बसाई क्याम्पसमा पुर्याइएको थियो।
भारतका विभिन्न ठाउँबाट आएका नेपाली नाकामा अलपत्र परेपछि स्थानीय प्रशासनले क्वारेन्टाइनमा राख्ने र शंकास्पदबाहेकलाई बिस्तारै घर पठाउने रणनीति अपनाएको थियो।
नगर बसमा क्याम्पस पुर्याइएका नेपालीहरु केहीबेरमै पर्खाल नाघेर भागेका हुन्। हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीका अनुसार, ५ सय ५३ जना पहिला नै रेकर्ड भइसकेका थिए। त्यसपछि पनि थपिएका थिए। ती सबैलाई दिउँसो अढाई बजेसम्ममा क्याम्पसमा पुर्याइएको थियो।
एक स्वास्थ्यकर्मीका अनुसार, ल्याएको केहीबेरमै युवाहरु पर्खाल नाघेर भागेका हुन्।महिला तथा बालबालिकाहरु त्यही छन्।बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले क्याम्पसमा राखेर खाना खुवाएर सबैलाई स्वास्थ्य जाँच गरेर शंकास्पदबाहेक अरुलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई समन्वय गरेर पठाउने तयारी गरिरहदा केही आफै हतारिएर निस्किएको बताए।
सरकारले उत्तर र दक्षिणको नाका बन्द गर्नु अघि नै बाँके प्रशासनले बाँकेको नाका सील गरेको थियो।भारतबाट घर फर्किएका नेपालीहरु नाकामा अलपत्र गरेपछि विहान नेपालगञ्ज ल्याएर क्वारेन्टाइनमा राखिएको थियो।विहान चार बजेदेखि रुपैडिहामा अलपत्र परेका उनीहरु नेपालतिर आउने बित्तिकै आन्दोलनको शैलीमा क्वारेन्टाइनबाट निस्केका थिए।जबकी विहान चार बजेदेखि १२ बजेसम्म रुपैडिहामा लाइन लागेर पलेटी कसेर बसेका थिए।
नाकामा पुगेर प्रदेश सांसदहरु आइपी खरेल, कृष्णा केसी नमुना, प्रमुख जिल्ला अधिकारी खड्का, नेपालगञ्जका मेयर डा। धवलशमशेर राणा, उपमेयर उमा थापामगर, एसपी वीरबहादुर ओली, सशस्त्रका एसपी दीपक अधिकारीलगायतले उनीहरुलाई ल्याएका थिए।समयमा खानाको व्यवस्था गर्न नसकेपछि भोकले आत्तिएका उनीहरु पर्खाल नाघेर भागेका थिए।