‘घुमौँ सौराहा’ अभियान मार्फत पर्यटक तान्ने प्रयास

‘घुमौँ सौराहा’ अभियान मार्फत पर्यटक तान्ने प्रयास

चितवन, ९ पुष ।
देशकै तेश्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा आन्तरीक पर्यटन प्रवद्र्धन गर्न ‘घुमाँै सौराहा’ अभियान सुरु गरिएको छ । आन्तरीक पर्यटन प्रवद्र्धनबाट मात्रै सौराहालाई चलायमान वनाउन सकिने भन्दै क्षेत्रीय होटल संघ नेपाल चितवनले पर्यटन वोर्ड, जिल्ला समन्वय समिति चितवन र रत्ननगर नगरपालिकाको सहयोगमा नेपालको पुर्वबाट ‘घुमाँै सौराहा’को अभियान सुरुवात गरेको हो ।

पहिलो चरणमा विराटनगरबाट सौराहाको प्रचार प्रसार गर्दै अभियानको सुरुवात गरिदैछ । सौराहाका कुनै पनि हिसावले सुरक्षित गरेको सन्देश दिदै घुमौँ सौराहा अभियान सुरु गरिएको क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए । झण्डै ८ महिना शुन्यको अवस्था रहेपनि दशै तिहार पछि केही मात्रामा पर्यटक यहाँ घुम्न आईरहेका छन् । संघका अध्यक्ष भट्टराईका अनुसार अहिले रात वस्ने पर्यटक १० देखी १५ प्रतिशत छन् भने दिउँसो आएर फर्कने झण्डै ३० प्रतिशतको हाराहारीमा छन ।

तत्कालका लागि आन्तरीक पर्यटकबाट मात्रै सौराहाको पर्यटन प्रवद्र्धन हुने भएकाले पहिलो चरणमा घुमौ सौराहा अभियानका क्रममा विराटनगर, जनकपुर र विरगंजमा कार्यक्रम गरि सौराहाका बारे जानकारी गराईनेछ । त्यसका लागि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको नेतृत्वमा रत्ननगर नगरपालिका प्रमुख नारायण वन र क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराई सहित पदाधिकारीको टोली त्यस तर्फ लागेको छ ।
विराटनगर जानु अघि विहीवार सौराहामा पत्रकार सम्मेलन गरि अभियानका बारे जानकारी गराईएको थियो । पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिका प्रमुख नारायण वनले पर्यटकका लागि सवै किसिमले सौराहा सुरक्षित रहेको वताए । जिल्ला समन्वय समिति चितवनका स्थानीय समन्वय अधिकारी चुडामणी गौतमले घुमौ सौराहा अभियानले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्धार रहेको सौराहा वन्यजन्तु अवलोकनका लागि विश्वभर प्रख्यात छ ।

त्यस्तै, बाघमारा सामुदायिक वन, चित्रसेन सामुदायिक वन र कुमरोज सामुदायिक वनमा हात्ती सफारी, जीप सफारी, डुंगा सयर गर्न पाउनुका साथै हात्ती प्रजनन केन्द्र, हात्ती स्नान, टावरमा रात्रीकालिन वास, सुर्यास्त अवलोकन, थारु सांस्कृतिक कार्यक्रम, जंगल पैदलयात्रा, चरा अवलोकन, सेभेन प्वाईन्ट टुर, घडियाल प्रजनन केन्द्र अवलोकन गर्न पाईन्छ । सौराहामा साना ठुला गरि करिव १२० वटा होटल र ७० वटा भन्दा वढि रेस्टुरेन्ट रहेका छन् ।