बुटवल–नारायणगढ सडक आयोजनालाई कोरोनाको ‘धक्का’!

बुटवल–नारायणगढ सडक आयोजनालाई कोरोनाको ‘धक्का’!

बुटवल,१२ फागुन

चीनमा कोरोना भाइरस संक्रमणका कारण नेपालका पनि धेरै आयोजना प्रभावित भएका छन् ।

जलविद्युत, विमानस्थल, खानेपानी सडक लगायतका आयोजना कोरोना भाइरसका कारण प्रभावित छन् । चिनियाँ कामदार र उपकरण नभएपछि आयोजनाको काम पछाडि धकेलिएका छन् ।

कोरोना भाइरसको कारण चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेड ठेकेदार रहेको बुटवल–नारायणगढ सडक विस्तार पनि प्रभावित भएको छ। बुटवलबाट नारायणगढसम्म १ सय १३ किलोमिटर सडक विस्तारको काम चलिरहेको छ। बुटवलबाट पश्चिम नवलपरासीको दाउन्नेसम्म ४८.५ किलोमिटर सडकको काम एक खण्डमा सुरु भएको छ। पूर्वी नवलपरासीको गैंडाकोटबाट दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकलाई दोस्रो खण्डमा विभाजन गरी काम भइरहेको छ।

नारायणगढ–बुटवल सडक आयोजना पश्चिम खण्ड बर्दघाटका सूचना अधिकारी इन्जिनियर युवराज पाण्डेका अनुसार व्यवस्थापन र प्राविधिक गरी २० जना चिनियाँ कामदार छन्। मुख्य प्राविधिक र प्रशासनिकमा चिनियाँ नै छन्। आधाभन्दा बढी प्राविधिक र कामदार चीनमै रोकिएका छन्। केही दिनभित्र कामदार नर्फिकए समस्या हुने उनी बताउँछन्।

२०७५ सालको पुसमा ठेक्का सम्झौता भएको सडकमा अहिले धेरै काम भैसक्नुपर्ने थियो । १ वर्षसम्म रुख कटानको विवादले काम सुरु हुन सकेन । २०७६ सालको पुसदेखि सरासर काम हुन थालेको थियो, तर चीनमा कोरोना भाइरस फैलिएपछि यो आयोजना प्रभावित भएको छ ।

आयोजनामा अहिले ३० किलोमिटर क्षेत्रमा रुख काट्ने काम सकिएको छ, २५ वटा कल्भर्ट र केही पुलको काम सुरु भएको छ । केही ठाउँमा माटो भर्ने काम चल्दैछ ।

तर ठेक्का सम्झौता भएको २०७५ सालको पुसदेखि साढे ३ वर्षभित्र अर्थात २०७९ सालको जेठ महिनामा सडक आयोजना सक्नको लागि अहिले निकै तीव्र गतीमा काम हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।