कांग्रेस नेताको घरमा पार्किङमा राखिएका ३ वटा मोटरसाइकलमा आगजनी

कांग्रेस नेताको घरमा पार्किङमा राखिएका ३ वटा मोटरसाइकलमा आगजनी

वीरगन्ज,१२ फागुन।

पर्साको परवानीपुरमा नेपाली कांग्रेसका एक नेताको घरमा पार्किङ गरेर राखिएका ३ वटा मोटरसाइकलमा अपरिचित समूहले आगजनी गरेको छ। पर्साको वीरगन्ज महमनगरपालिका २१ परवानीपुरका किशोरी ठाकुरको घरको बरण्डामा राखिएका ३ वटा मोटरसाइकलमा आइतबार राती आगजनी गरेको हो ।

आगजनीबाट ना १० प ८५५४, ना ३२ प १८२८ र प्रदेश २( ०( ३००५ प ७८६३ नम्बरको ३ वटै मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ। आगजनीबाट ठाकुरको घरको पर्खालमा समेत क्षति पुगेको छ । आइतबार राती १२ बजेतिर आएका अपरिचित व्याक्ति‍ले घरको बरण्डामा पेट्रोल छर्किएर मोटरसाइकलमा आगो लगाएर फरार भएको घरधनी ठाकुरका भतिजा अभिषेक ठाकुरले बताए ।

परवानीपुरबाट पटेलनगर जाने सडक फराकिलो बनाउने काम ठाकुरकै अगुवाइमा भइरहेको र सडक विस्तारका क्रममा केही दिनअघि स्थानीय केही व्याक्तिसँग विवाद भएकाले त्यसैको रिसबीमा आगजनी गरेको हुनसक्ने आशंका अभिषेकले बताए ।

आगजनी गरेको आशंका प्रहरीले सोमबार ठाकुरका छिमेकी राजाराम यादवले नियन्त्रणमा लिएको छ। सोमबार घटनास्थलमा पुगेकी पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले सोधपुछका लागि एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइन्।