सप्तरीका चार ठाउँमा उत्रियो सेना
जनकपुरधाम,११ चैत्र ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको निर्णय प्रदेश २ का विभिन्न जिल्लामा उल्लंघन भएको छ । सप्तरीमा प्रहरीले नसकेपछि सहयोगका लागि नेपाली सेनासमेत सडकमा आएको छ ।
प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा भीड पातलिए पनि सर्वसाधारण घरबाट बाहिर आउन छाडेका छैनन् । फाटफुट पसलहरु पनि सञ्चालनमै छन् । मुख्य सडकदेखि अन्य बजार क्षेत्र भएर मान्छेहरु आवत–जावत गरिरहेका छन् ।
सिरहाको लाहानमा गुद्री हटिया बन्द गर्न नमान्दा प्रहरी परिचालन गर्नुपरेको छ । प्रहरी परिचालन गरेर गुद्री हटिया बन्द गराइएको छ ।
सप्तरीमा प्रहरी कम भएको भन्दै सेना उतारियो
सरकारले गरेको लकडाउनको निर्णय कार्यान्वयन गराउन सप्तरी सदरमुकाम राजविराजसहितका ठाउँमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रहरीको संख्या अपुग भएको भन्दै सेनालाई पनि खटाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनार्दन कट्टेलले जानकारी दिए ।
सर्वसाधारण घर बाहिर आउँदा उनीहरुलाई सम्झाएर घरभित्रै बस्न सुरक्षाकर्मीले आग्रह गरिरहेको प्रशासकीय अधिकृत कट्टेलले बताए ।