चितवनमा लकडाउन उलंघन गर्ने ७ सय ५५ वटा सवारीसाधन नियन्त्रणमा
चितवन , ११ चैत।
विश्वभरी फैलिरहेको (कोभिड १९) कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशभर लक डाउन गर्ने निर्णयकोसँगै आज बिहानबाट चितवनमा कडाई गरिएको छ । लक डाउनको उलंघन गर्दै अनावश्यक रुपमा निस्किएका ७ सय ५५ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको विभिन्न स्थानमा चेकप्वाइन्ट राखेर अनुमतिविना अनावश्यक रुपमा संचालन गरिएका ७ सय ५५ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिए । नियन्त्रणमा लिइएका सवारीसाधनलाई दुईघण्टा नियन्त्रणमा लिएर चालकलाई सचेत बनाएर छाडिएको हो ।
आज पहिलो दिन भएकाले केहिबेर नियन्त्रणमा लिएर सम्झाई बुझाई गरेर पठाइएको र भोलीबाट कसैलेपनि पाँस विना सवारीसाधन चलाए कारबाही हुने प्रहरी निरिक्षक भट्टले बताए । अत्यावश्यक काम औषधी , खाद्यान्न लिन बाहेकको अनावश्यक कामको लागि सडकमा पैदल रुपमा पनि ननिस्कन प्रशासनले आग्रह गरेको छ ।