नेपालमा विनाशकारी भूकम्प गएको पाँच वर्ष पूरा ,पुनर्निर्माण र पुनर्स्थापनाका काम अझै भएन पूरा

नेपालमा विनाशकारी भूकम्प गएको पाँच वर्ष पूरा ,पुनर्निर्माण र पुनर्स्थापनाका काम अझै भएन पूरा

काठमाडौं,१२ वैशाख

आज वैशाख १२ गते शुक्रबार गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको ५ वर्ष पूरा भएको छ । अर्थात् विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई ७।६ रेक्टर स्केलको बिनाशकारी भूकम्प आएको दिन । यस अवधिमा पुनर्निर्माणको काम करिब ६८ प्रतिशतसम्पन्न भएको छ । प्राधिकरणले विभिन्न क्षेत्रमा पुनर्निर्माणका क्रममा हालसम्म ३ खर्ब ८१ अर्ब खर्च गरेको छ ।

सो भूकम्पका कारण देशभर ८ लाखभन्दा बढी निजी आवास भत्केका थिए भने करिब ९ हजार मानिसले ज्यान गुमाएका थिए । त्यस्तै, २२ हजार मानिस घाइते हुँदा लाखौं व्यक्ति घरबाट खुला आकाशमुनि बस्न बाध्य भएका थिए ।

भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा सिन्धुली, काभे्रपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा निकै क्षति पुर्याएको थियो । त्यस विनाशकारी भूकम्पको अहिले पनि धेरैको मानसपटलमा सम्झना ताजै छ ।

यसबाट जोगिन बलिया संरचना बनाउन विज्ञहरु सुझाव दिंदै आएका छन् । साथै, त्यतिबेला ध्वस्त भएका पुनर्चंरचना र निजी आवासहरु अझै पनि पूर्णरुपमा पुनर्निमाण भइसकेका छैनन् ।