एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद, १० लाखसम्म जरिवाना

एसिड आक्रमण गर्नेलाई  २० वर्ष कैद, १० लाखसम्म जरिवाना

काठमाडौं,९ असोज

एसिड आक्रमणका घटना बढेपछि सरकारले विद्यमान ऐन तथा कानूनमा संशोधन गर्ने गरी नयाँ अध्यादेश ल्याएको छ ।

एसिड आक्रमण गर्ने दोषीलाई २० वर्षसम्म कैद र १० लाख रूपैयाँसम्म जरिवाना गर्ने गरी सरकारले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ ल्याएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यस अध्यादेश जारी गरेपछि प्रमाण ऐन २०३१, न्याय प्रशासन ऐन २०७३, मुलुकी अपराध स‌ंहिता २०७४ लगायतमा संशोधन हुनेछ ।

बर्सेनि बढ्दै गएका एसिड आक्रमणका घटनालाई न्यूनीकरण गर्नका लागि कानूनमा कडाइ गर्नुपर्ने माग चौतर्फी उठ्दै आएको थियो ।

संघीय संसद्को अधिवेशन चालू अवस्थामा नरहेकाले सरकारले अध्यादेशमार्फत ऐनहरूमा संशोधन गर्न लागेको हो ।