विराटनगरमा सुकुम्बासीका घर–टहरा भत्काउँदा झडप

विराटनगरमा सुकुम्बासीका घर–टहरा  भत्काउँदा झडप

विराटनगर,१३ फागुन।

विराटनगर महानगरपालिका–१ पोखरीया भट्टा चोकमा सुकुम्बासीका घर–टहरा भत्काउन डोजर लिएर पुगेको टोली र स्थानीय बासिन्दाबीच मंगलबार दिउँसो झडप भएको छ ।

स्थानीय बासिन्दाले अवरोध सिर्जना गरेर टहरा भत्काउन नदिएपछि केही बेर विवाद उत्पन्न भयो । स्थानीले घर भत्काउन पुगेको टोलीको फोटो र भिडियो लिन थालेपछि नगर रक्षक र प्रहरीको टोलीसँग केही बेर धकेलाधकेल पनि भयो । प्रहरीले भिडियो नलिन आग्रह गरेपछि तनाव सुरु भएको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईको नेत्रृत्वमा थप मद्दतका लागि प्रहरी टोली पुगेपछि बल प्रयोग गरेर सडकको उत्तरतर्फ सार्वजनिक जग्गामा बनाइएका सुकुम्बासीका घर डोजर लगाएर भत्काइएको छ । डीएसपी राईले महानगरको आग्रह अनुसार घर–टहरा भत्काउने कार्यमा प्रहरीले सुरक्षा प्रदान मात्रै गरेको जानकारी दिए ।

विराटनगर महानगरपालिकाले सार्वजनिक जग्गामा ३५ वर्षअघि बनाइएका सात घर–टहरा भत्काएको छ । ती घर–टहरामा मोहम्मद नसिर, जमिल अंसारी, जाकिर शेख, जहाँगिर शेख, रियाज उद्धिन शेख, मोहम्मद साहदत शेख र फारुक शेखको परिवार बस्दै आएका थिए ।

अतिक्रमण गरेर संचरना निर्माण गरिएका सार्वजनिक जग्गा खाली गर्नका लागि सूचना प्रकाशित गरेर दिएको अल्टिमेटम नमानेपछि बल प्रयोग गरेर टहरा भत्काउँदै जग्गा खाली गर्नु परेको महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताए । ‘महानगरले दिएको अल्टिमेटमलाई बेवास्था र अटेर गरिएपछि बल प्रयोग गरेर संरचना हटाइएको हो,’ उनले भने, ‘यसरी अतिक्रमित भएका सबै जग्गा खाली गराउने महानगरको योजना छ ।’

स्थानीय जय कामतले व्यक्तिको नाममा रहेको नम्बरी जग्गा बिक्री गर्ने योजना अनुसार भूमाफियाको बलमा सुकुम्बासीको घर–टहरा भत्काइएको आरोप लगाए । सुकुम्बासीले बनाएका टहरा पछाडि व्यक्तिको जग्गा छ । ‘सार्वजनिक जग्गामा सुकुम्बासी बसिदिएपछि नम्बरी जग्गासम्म पुग्ने बाटो थिएन,’ उनले भने, ‘त्यही भएर भूमाफियाको बलमा महानगरले सुकुम्बासीलाई घरबार विहीन बनाइदियो ।’

कामतका अनुसार डेढ कट्ठा सार्वजनिक जग्गामा सुकुम्बासी बसेका थिए ।
स्थानीय बासिन्दाले नजिकैको परोपकार घाटमा रहेको चार बिघा जग्गा ओगटेर बसेका एक सय बढी परिवारलाई नहटाएको र गरिब तथा जग्गा विहीन सुकुम्बासी बसेका टहरा भने भत्काइएको भन्दै विरोध गरेका छन् । ‘सुकुम्बासीलाई स्थानान्तरण नगरिकन घरबार बिहीन बनाइयो,’ कामतले भने, ‘कुनै विकल्प दिएर घर–टहरा भत्काइएको भए हुन्थ्यो ।’

स्थानीय ६२ वर्षीया बीबी हसिना खातुनले घरबार विहीन भएका कारण अब कहाँ गएर बस्ने भन्ने चिन्ता थपिएको बताइन् । ‘हामी ३५ वर्षदेखि यो ठाउँमा बसेका थियौं । आज एक्कासि हटाइयो,’ उनले भनिन्, ‘गरिब सुकुम्बासीलाई दुःख दिइयो । आँसुका धारा बगाएर बस्ने बाहेक हामीसँग कुनै विकल्प छैन ।’

उनको परिवारमा छोरा मोहम्मद अब्सरले ज्याला मजदुरीबाट गरेको कमाइबाट आठ जना पालिनु पर्ने अवस्था छ । अब्सरका चार साना छोरीहरु छन् । आमा र बुवा वृद्ध अवस्थामा छन् । श्रीमती छोरीहरू र वृद्ध अवस्थाका आमा र बुवाको स्याहारमा हुन्छिन् । अब्सर दिनभर ज्याला मजदुरी गरेर कमाएको पैसाले परिवारको गर्जो टार्थे । ‘पैसा नभएका कारण बिरामी पर्दा हामी अरुसँगै मागेर उपचार गर्ने गरेका थियौं,’ उनले भने, ‘अब झन् घरबार बिहीन बनाइएकाले टाउको लुकाउने ठाउँ पनि भएन ।’

अब्सरले महानगरपालिकाले घरबारबिहीन बनाएर आफ्नो परिवारलाई दुःखमाथि पीडा थपिदिएको बताए । आफूहरूलाई विकल्प दिएर अन्यत्र बसोबासको व्यवस्था गर्न उनले माग गरेका छन् ।

नेपाल भूमिहीन सुकुम्बासी संगठन विराटनगर महानगर कमिटीका अध्यक्ष बुद्धिमान लिम्बूले भूमिहिन सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गरिनु पर्ने, हटाउनुअघि नै सुकुम्बासीलाई पुर्नवासको व्यवस्था गरिनु पर्ने आफूहरुको मागमा महानगरले बेवास्था गरेको बताए । ‘सुकुम्बासीलाई घरबारबिहीन बनाउने महानगरको योजना छ,’ उनले भने, ‘यो अति नै गलत र अमानवीय कदम हो ।’