रत्ननगर १२ मा किसानलाई अनुदानको घाँसको बीउ,पशुलाई सुत्केरी भत्ता

रत्ननगर १२ मा किसानलाई अनुदानको घाँसको बीउ,पशुलाई सुत्केरी भत्ता

चितवन १३ फागुन ।

रत्ननगर नगरपालिका वडा नं १२ ले दुधको उत्पादन बढाउन र पशुपालनको विकास गर्न किसानमैत्री कार्यक्रम सञ्चालन गर्दै आएको छ । पशुपालन गर्ने इच्छा भएका र आर्थिक अभावका कारण गाईभैसी किन्न नसकेका किसानहरुलाई गाई दिने तथा व्यवसायिक रुपमा पशुपालन गर्दै आएका किसानहरुका लागि घाँसको बीउ,गोठमै पुगेर स्वास्थ्य परीक्षण र खोपको कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सोही अनुसार वडा कार्यालले मंगलवार औपचारिक कार्यक्रमको आयोजना गरी वडा भित्रका पशुपालक किसानहरुलाई ५० प्रतिशत अनुदानमा घाँसको बीउ र सुत्केरी पशुलाई पोषण भत्ता वितरण गरेको छ । पोषण भत्ता भने रत्ननगर नगरपालिकाले वितरण गरेको हो । वडा कार्यालयमा गएिको कार्यक्रममा वडा भित्रका पशुपालक किसानहरुलाई ५ किलो देखि एक क्वीन्टल सम्म सुडान जातको घाँसको बीउ वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष वीरबहादुर पाख्रिन,कार्यपालिका सदस्य निर्मला खड्का,कृषि तथा पशु विकास समितिका अध्यक्ष किशोर बगालले किसानहरुलाई घाँसको बीउ हस्तान्तरण गरेका थिए । सो अबसरमा वडाध्यक्ष पाख्रिनले गत आर्थिक बर्षमा किसानहरुलाई गाई प्रदान गरिएको र चालु आर्थिक बर्षमा वडा बजेटबाट ५० प्रतिशत अनुदानमा घाँसको बीउ वितरण गरिएको बताए ।

त्यसैगरी वडा भित्र रहेको कन्चन दुग्ध उत्पादक सहकारी संस्थाका दुध विक्री गर्ने १८ जना किसानका पशुहरुलाई सुत्केरी भत्ता वितरण गरिएको नगरपालिकाका पशु विकास अधिकृत शालिकराम पौडेलले जानकारी दिए । कृषि तथा पशु विकास समितिका अध्यक्ष किशोर बगालेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सुकमाया विक,ठुलाकान्छा तामाङ, समाजसेवी श्रीकृष्ण घिमिरे लगायतको सहभागिता रहेको थियो । कार्यपालिका सदस्य निर्मला खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रम कृषि तथा पशु विकास समितिका सचिव जनकराज पन्तले सञ्चालन गरेका थिए ।