कोरोना अपडेट : कति पुग्यो मृतकको संख्या, कति संक्रमित ?
काठमाडौं,१२ चैत्र ।
चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसबाट विश्वभर चार लाखभन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने करिब १९ हजार मानिसको मृत्यु भइसहेको छ ।
विश्वभरका १९७ मुलुकमा फैलिइसकेको यस भाइरसको संक्रमणबाट १० मुलुक बढी प्रभावित भएका छन् । कोरोना भाइरस सुरु भएको चीनमा अहिले संक्रमणको दर भने निकै कम भएको छ ।
विश्वभर कोरोना संक्रमितमध्ये एक लाख ९ हजार १०२ जनाको उपचारपछि घर पठाइएको वर्ल्ड मिटरको तथ्यांकले देखाएको छ ।
चीनको हुबेइ प्रान्तबाट सुरु भएको भाइरसले सबभन्दा बढी वुहानलाई संकटमा पारेको थियो । चीन सरकारले जनवरी २३ देखि नै वुहानलाई लकडाउनको घोषणा गरेको थियो । वुहानमा अप्रिल ८ मा लकडाउन खोल्ने घोषणा गरिएको छ । वुहानबाहेक हुबेइका अन्य सहरहरुमा भने आजदेखि लकडाउन खुला गरिएको छ ।
सामाजिक दूरी कम गर्नुका साथै उच्च परीक्षण र उपचार प्रणालीका कारण चीनले कोरोनाको संक्रमण नियन्त्रणमा सफलता हात पार्न सकेको हो । मंगलबार चीनमा ४७ नयाँ संक्रमित भेटिएका थिए भने चार जनाको मृत्यु भएको थियो ।
चीनमा हाल मृत्यु हुनेको संखया तीन हजार २८१ पुगेको छ भने ८१ हजार २१८ संक्रमितमध्ये ७३ हजार ६५० को उपचार गरिएको छ । पछिल्लो कोरोना इपिसेन्टर युरोपको इटाली बनेको छ । इटालीमा ६९ हजार १७६ संक्रमितमध्ये ६ हजार ८२० जनाको मृत्यु भएको छ भने ८ हजार ३२६ को उपचार गरिएको छ ।
त्यसैगरी संक्रमित मुलुकको सूचीको तेस्रो नम्बरमा रहेको अमेरिकामा करिब ५५ हजार संक्रमित छन् भने ७८२ को मृत्यु भइसकेको छ । संक्रमितमध्ये ३७८ को उपचार गरिएको छ । स्पेनमा संक्रमितको संख्या ४२ हजार पुगेकोमा दुई हजार ९९१ को मृत्यु भएको छ भने तीन हजार ७९४ जनाको उपचार गरिएको छ ।