काबुलको एक गुरुद्वारामा हमला, कम्तीमा ११ जनाको मृत्यु
काठमान्डौ,१२ चैत्र
अफगानिस्तानका अल्पसङ्ख्यक शिख समुदायको एक धार्मिक भेलामा बुधबार भएको हमलामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अर्का ११ जना घाइते भएका छन्। यस हमलालाई अहिलेसम्म अल्पसङ्ख्यक शिख समुदायमाथि भएको सबैभन्दा भयानक मानिएको छ।
अफगानिस्तानको आन्तरिक मन्त्रालयले उक्त गुरुद्वारामा प्रहरीको निगरानीमा १५० जना जसो भक्तजन रहेको बताइएको छ। उक्त घटना हुँदै गर्दा अल्पसङ्ख्या शिख समुदायका सांसद नरेन्द्र सिंह खाल्सा गुरुद्वारा नजिकै रहेको र उनी तुरन्तै त्यहाँ पुगेको बताइएको छ।
उक्त क्षेत्रबाट ११ जना बालबालिकालाई उद्धार गरिएको प्रहरीले जनाएको छ।
हालसम्म उक्त हमलाको जिम्मेवारी कसैले लिएको छैन। तालिवानी समूहले उक्त घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ। तालिवानका प्रवक्ता जइबुल्लाह मुहाजिदले एक विज्ञप्ति जारी गर्दै काबुलको शोर बजार क्षेत्रमा भएको उक्त हमलामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको हो।
कट्टर मुस्लिम राष्ट्रमा शिखहरूले लामो समयदेखि विभेद झेलिरहेका छन् र उनीहरूलाई पटकपटक कट्टरपन्थीहरूले आक्रमण गरेका छन्। सन् १९९० ताका तालिवानी शासनमा शिखहरूलाई पहेँलो आर्मब्यान्ड लगाउन अनिवार्य गरिएको थियो। केही वर्षयता ठूलो सङ्ख्यामा त्यहाँका शिख र हिन्दु समुदाय भारतमा आश्रय लिन पुगेका छन्।