भारतबाट फर्किएका ५२ जना डडेल्धुराको क्वारेन्टाइनमा राखियो
डडेल्धुरा,१२ चैत्र ।
भारतबाट फर्किएका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ। जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाले भारतबाट फर्किएका ३९ जनालाई क्वारेन्टाइनमा राखेको हो। भारतबाट घर फर्किएका ३९ जनालाई परशुराम नगरपालिका-१२ पर्ने त्रिवेणी बहुमुखी क्याम्पसमा नगरपालिकाले बनाएको क्वारेनटाइनमा राखिएको हो। बुधबार बिहान उनीहरूको स्वास्थ्य परीक्षणपछि क्वारेनटाइनमा राखिएको नगरप्रमुख भीमबहादुर साउदले जानकारी दिए। उनका अनुसार भारतबाट घर फर्किएका परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका व्यक्तिहरूलाई उक्त क्वारेनटाइनमा राखिएको छ। ‘हामीले स्थानीय स्रोत साधनको प्रयोग गरी क्याम्पसमा क्वारेनटाइन बनाएका हौं।
अहिले उनीहरू क्वारेनटाइनमा राखिएको छ,’ उनले भने, ‘उनीहरूले १४ दिनसम्म क्वारेनटाइनमा बस्नुपर्नेछ।’ भाइरसका संक्रमित तथा सम्भावित बिरामीको उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पीपीई) ४ थान रहेको उनले बताए। मास्क अभाव रहेको नगरप्रमुख साउदले बताए। मास्कका लागि पहल भइरहेको उनको भनाइ छ। ‘केही दिनअगाडि सात(आठ हजार मास्क वितरण गरेका थियौं,’ उनले भने, ‘फेरि मास्क आवश्यक छ। बजारमा पाइरहेका छैनौं। प्रयास जारी छ।’ नवदुर्गा गाउँपालिका(४ सेरीमा रहेको क्वारेन्टाइनमा भारतबाट फर्किएका ५ जना राखिएको नवगुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले जानकारी दिए।
यस्तै अजयमेरु गाउँपालिकाले पनि ३ जनालाई सहश्रलिङ माविमा र २ जना देवलमा क्वारेन्टाइनमा राखिएको गाउँपालिका प्रवक्ता शिवराज भट्टले जानकारी दिए। भारतबाट आएका अरुको तथ्यांक संकलन गरि निगरानीमा राखिएको उनले बताए। भागेश्वर गाउँपालिकाले निमार्ण गरेको क्वारेन्टाइनमा भारतबाट फर्किएका ३ जनालाई राखिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोक्काले जानकारी दिए। अरु स्थानीय तहमा पनि भारतबाट आउनेको संख्या धेरै आएकाले सेल्फ क्वारेनटाइन बस्न अनुरोधबाहेक केही गरेका छैनन्। जसले गर्दा शहरभन्दा गाउँ असुरक्षित बनेको स्वास्थ्यकर्मीहरुले बताएका छन्।