चितवनका कोरोना संक्रमित युवक निको भए, बागलुङकी १९ वर्षीया युवती ‘डिस्चार्ज’

चितवनका कोरोना संक्रमित युवक निको भए,  बागलुङकी १९ वर्षीया युवती ‘डिस्चार्ज’

चितवन,१३ बैशाख ।

चितवनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएर भरतपुर अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जनामध्ये एकजना २७ वर्षीय पुरुषको स्वाब परीक्षणमा लगातार दोस्रो पटक नेगेटिभ नतिजा देखिएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बिहीबार र शुक्रबार ती व्यक्तिको स्वाब परीक्षण भएको थियो । २४ घण्टाको फरकमा गरिएका दुवै परीक्षणको नतिजा नेगेटिभ आएको पौडेलले जानकारी दिए ।

‘यो भनेको ती व्यक्ति निको भए भन्ने हो । प्रोटोकल अनुसार अब उनलाई अस्पतालबाट डिस्चार्ज गर्न मिल्छ,’ भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा। श्रीराम तिवारीले भने । ती व्यक्तिसँगै उनको आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उपचार सुरु भएपछि बिहीबार पहिलो पटक आमाछोरा दुवैको स्वाब परीक्षण गरिएको थियो । आमाको नतिजा भने पोजेटिभ देखिएको छ । आमाको आइतबार फेरि परीक्षण हुनेछ ।

बागलुङ ।

एक महिना लामो आइसोलेसन बसाइपछि पाँचौं कोरोना संक्रमित बागलुङकी १९ वर्षीया अंशु सापकोटा निको भएकी छिन् । उनको स्वाब परीक्षणमा लगातार दोस्रोपटक नेगेटिभ देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीले बताइन् । उनलाई शुक्रबार राति डिस्चार्ज गरिएको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। शैलेन्द्र पोखरेलले जनाए । त्यसअघि चारपटकसम्म उनको पोजिटिभ रिपोर्ट आएको थियो ।

बागलुङ नगरपालिका ४ कुँडुलेकी सापकोटा गत पुस तेस्रो साता बेल्जियममा आमाबाबु भेट्न गएकी थिइन् । गाउँमा हजुरबुबा, हजुरआमासँगै बस्ने सापकोटा साढे दुई महिनापछि नेपाल फर्केकी थिइन्। गत चैत ४ मा नेपाल आएकी सापकोटालाई घरमा पुगेको एक–दुई दिनमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखियो । चैत १२ गते उनको स्वाब संकलन गरेर काठमाडौं पठाएपछि चैत १५ गते कोरोना भाइरस पोजिटिभ पुष्टि भयो।

कान्तिपुरबाट