कीर्तिपुरमा एक विद्यार्थीमाथि निर्घात कुटपिट

कीर्तिपुरमा  एक विद्यार्थीमाथि निर्घात कुटपिट

काठमाडौँ,१३ वैशाख

लकडाउनको ३३ औँ दिन कीर्तिपुरको सडकमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरिएको छ।

शनिबार बिहान आफ्ना साथीको सुरक्षाको माग गर्न कीर्तिपुर चौकी पुगेका ती विद्यार्थीलाई अज्ञात समुहले निर्घात कुटिएको भिडियो सार्वजनिक भएको छ।

सडकको छेउमा लडाएर उक्त विद्यार्थीको टाउकोमा कुल्चिएको दृश्य भिडियोमा देख्न सकिन्छ। साथीको सुरक्षाका लागि कीर्तिपुर चौकी पुगेको भने पनि सुरक्षाको माग गर्दै चौकीसम्म कोही पनि नपुगेको वृत्तका डीएसपी छेदिलाल कामदीले बताए।

‘सुरक्षाको माग गर्दै चौकीसम्म कोही पनि आएका छैनन्। तर केही युवाहरु लकडाउन उल्लंघन गर्दे बाटोमा हिँडिरहेको भन्ने खबर आएको थियो’, उनले भने, ‘तर सूचना दिएको ठाउँमा हामी पुग्दा त्यस्तो केही पनि थिएन। सार्वजनिक भएको भिडियो हामी पुग्नु भन्दा अगाडिको हुन सक्छ।’ प्रहरीले अहिले यही विषयमा अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

कुटपिट गरिएका व्यक्ति त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत ललितजंग रावत रहेको र उनलाई उपचारका लागि अस्पताल लगिएको बुझिएको छ।