मिलिजुली वधशालाको कृषि मन्त्री लामाद्धारा उद्घाटन

मिलिजुली वधशालाको कृषि मन्त्री लामाद्धारा उद्घाटन

माघ १२ गते ।
चितवनको खैरहनी नगरपालिका १ मा निर्माण गरिएको पशुवधशालाको आईतवार उद्घाटन गरिएको छ । चितवनका व्यवसायी र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको व्यवस्थित वधशालाको वागमती प्रदेशका भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरे । मन्त्री लामाले बजारलाई सफा राख्न पशुबधशाला आवश्यक रहेको बताए । उनले हरेक स्थानीय तहका जनप्रतिनिधिहरुले बधशाला निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्र चितवनका अध्यक्ष दयाराम चापागाइले मासु जाँच ऐनको ख्यालै नगरी व्यवसायीहरुले जथाभावी पशुहरुको बध गर्ने गरेका कारण चितवनका बजार दुर्गन्धित बन्दै गएको बताए । लामो समय देखि पर्सा बजारमा मासुको व्यवसाय गर्दै आइरहेका मनोज कुमार खड्कीको नेतृत्वमा चितवनमै पहलो पटक मिलीजुली पशुबधशाला सञ्चालनमा आएको हो । बधशाला नभएका कारण जिल्लाको मुख्य बजार नारायणगढ बजार,टाँडी,पर्सा,भण्डारा बजारमा जथाभावी पशुको बध गरिदै आएको छ । राँगा र भैसीको मासु एकै ठाउँमा उत्पादन गर्ने योजनाका साथ खड्की लगायत ५३ जनाको सामुहिक लगानीमा बधशाला सञ्चालनमा ल्याइएको हो । ३ करोडको लगानीमा बधशाला निर्माण गरिएको हो । बधशाला निर्माणको लागि बागमती प्रदेश सरकारले ७१ लाख रुपैया अनुदान प्रदान गरेको छ । करिव दुई विगहा क्षेत्रफलमा पशु बध स्थल,कोल्र्ड स्टोर,चिलिङ रुम,पशु बाधने गोठ,कार्यालय भवन,कर्मचारी आवासगृह निर्माण गरिएको सञ्चालक खड्कीले जानकारी दिए । सो बधशालामा दैनिक १० क्वीन्टल मासु उत्पादन हुदै आएको छ । बधशालामा तयार गरिएको मासु नारायणगढ टाँडी पर्सा,भण्डारा बजारमा विक्रीका लागि पठाइने सञ्चालक खड्कीले जानकारी दिए ।