आँखा उपचार केन्द्र सञ्चालन

मुग्लिन, ११ पुस ।
चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पहिलोपटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाको सहकार्यमा इच्छाकामना–४ कुरिनटारमा आँखा अस्पताल सञ्चालनमा आएको हो । केन्द्रको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले शुक्रबार उद्घाटन गर्नुभयो ।

अध्यक्ष गीताकुमारी गुरुङले अब आँखाको सामान्य समस्या आउँदा पनि भरतपुर जान पर्ने समस्याको समाधान भएको बताउनुभयो । भरतपुर आँखा अस्पतालमा पाउने सम्पूर्ण सुविधा दिने गरी यस उपचार केन्द्रलाई आँखा अस्पपताका रुपमा विकास गरिने बताउनुभयो । वडा नं ४ का वडाध्यक्ष होमबहादुर रानाले इच्छाकामना गाउँपालिकामात्र नभई छिमेकी जिल्ला गोरखाको गण्डकी, शहीद लखन र धादिङको बेनीघाट रोराङ गाउँपालिकाका जनताले पनि सुविधा पाउने बताउनुभयो । नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य चित्रकुमार मास्केले नाफा भन्दा पनि सेवाको भावनामा देशभर १२१ स्थानमा केन्द्र सञ्चालन गरिरहेको बताउनुभयो । नेत्रज्योति सङ्घले देशका ३५० स्थानमा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य राखेको छ । आँखा उपचार केन्द्रमा कम्तीमा ७५ प्रतिशत आँखाका रोगको उपचार हुने बताउनुभयो । यहाँ कर्मचारी र व्यवस्थापन खर्चका लागिमात्र सेवाग्राहीहरुबाट न्यून शुल्क लिने उहाँको भनाइ छ । लायन्स क्लबका प्रथम डिस्ट्रिक गभर्नर रामप्रसाद भट्टले लायन्स क्लब अफ इन्टरनेशनलले उपकरणहरु उपलब्ध गराउने प्रतिबद्ध व्यक्त गर्नुभयो । लायन्स क्लबले विशेषगरी आँखामा नै बढी काम गर्ने भएकाले आँखा उपचार केन्द्रलाई सहज बनाउने विभिन्न कार्यक्रम गरी संरक्षणको भूमिका खेल्ने पनि बताउनुभयो । रासस