दोलखा भीमेश्वरको शिलामा पसिना आएपछि गरियो क्षमापूजा, ४ वटा बोकाको बली, प्रसाद राष्ट्रपतिलाई

दोलखा भीमेश्वरको शिलामा पसिना आएपछि गरियो क्षमापूजा, ४ वटा बोकाको बली, प्रसाद राष्ट्रपतिलाई

काठमाडौं,१४ फागुन ।

फागुन ८ गते दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएपछि सम्भावित अनिष्ट टार्न मंगलबार क्षमापूजा गरिएको छ । क्षमापूजाका लागि राष्ट्रपति कार्यालयले भेटी र गृह मन्त्रालयले कालो बोका पठाएको छ ।

पसिना पुछेको कपाससहित प्रसाद राष्ट्रपति कार्यालय शीतल निवास लगिएपछि मंगलबार क्षमा पूजा गरिएको हो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मासहितको टोली र स्थानीय गुठियार, पुजारी र जनप्रतिनिधिहरुले संयुक्त रुपमा क्षमा पूजा गरेका थिए । मंगलबार बिहान ९ बजेदेखि पाँच घन्टासम्म भीमेश्वरको शिलामा पूजा गरिएको थियो ।
गत बिहीबार बिहान झन्डै दुई घन्टा मन्दिरको शिलामा पसिना आएको थियो ।

भीमेश्वर शिलामा पसिना आउनुलाई राष्ट्रमा अनिष्ट हुने संकेतका रुपमा लिइने स्थानीय गुठियारहरु बताउँछन् । त्यसैदिन ७० करोड कमिसन काण्डमा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले राजीनामा दिएका थिए ।