नयाँ राजतन्त्रको अभ्यास : राष्ट्रपति र प्रधानमन्त्री यताउता जाँदा सार्वजनिक बिदा

काठमाडौं,१४ फागुन ।

मुलुकबाट राजतन्त्र समाप्त भएको डेढ दशक पुग्न लागिसकेको छ । राजतन्त्रमा तत्कालीन राजाहरुले जनताको भावनालाई कदर नगरेको तथा मुलुकको विकास र समृद्धि गर्न नसकेको, जनताको अधिकार कुष्ठित गरेकोजस्ता आरोप राजनीतिक दल र तिनका नेताहरुले लगाउन गरेका थिए । २०६२÷०६३ सालको दोस्रो जनआन्दोलनले साढे दुई शताब्दी इतिहास बोकेको शाहवंशीय राजसंस्था अन्त्य भयो । तर, अहिले आएर मुलुकमा राजतन्त्र नभए पनि तत्कालीन राजाहरुले अपनाउने शैली भने यथावत रहेको देखिन थालेको छ ।

तत्कालीन राजाहरुको जन्मोत्सवमा सार्वजनिक बिदा दिइन्थ्यो । विद्यालयले विद्यार्थीहरुलाई जम्मा पारेर राजाको दीर्घायूको कामना गराउन लगाउँथे । राजाको कतै सवारी हुँदा पनि सार्वजनिक बिदा दिने गरिन्थ्यो । ठाक्कै, अहिले राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमण र जन्मोत्सवमा सार्वजनिक बिदा दिन थालिएको छ । जसले राजतन्त्रको शैलीले निरन्तरता दिन थालिएको छ ।

यही फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औं जन्मदिन मनाए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान जन्मदिन मनाएर दिउँसो आफ्नो पुर्ख्यौली थलो तेह्रथुमको आठराई पुगे । चारवटा हेलिकप्टरमा प्रधानमन्त्री ओली र उनका केही पारिवारिक सदस्य, मन्त्री, नेता र व्यापारीहरु आठराई पुगेका थिए । काठमाडौंबाट १५ किलोको केक लगेर काटिएको थियो । गाउँ गाउँबाट मानिस र विद्यार्थी जम्मा पारिएको थियो । ६ हजार जनालाई भोज खुवाइएको थियो । झापाबाट क्याटरिङ लगेर भोजको व्यवस्था गरिएको थियो ।

राजाको भ्रमणका बेला दिएको जस्तै आठराई गाउँपालिकाले प्रधानमन्त्री आउने भएपछि सार्वजनिक बिदा दिएको थियो । यस्तै प्रधानमन्त्री ओलीको जन्मदिनमा सार्वजनिक बिदा दिएकोप्रति आलोचना भइरहेका बेला बैतडीको बैतडीको पाटन नगरपालिकाले राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुने भएपछि सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रपति भण्डारीको भ्रमण हुने भएकाले नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । राष्ट्रपति भण्डारी बुधबारदेखि सुदूरपश्चिम भ्रमणमा जाने भएकी छन् । बिहीबार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विषेश पूजाआजा र दशरथचन्द नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी १७ गते काठमाडौँ फर्किने कार्यक्रम छ । – क्यानाडानेपालबाट साभार