विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २१ हजार नाघ्यो, ४ लाख बढी संक्रमित

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २१ हजार नाघ्यो, ४ लाख बढी संक्रमित

काठमान्डौ,१३ चैत

कोरोना भाइरस पहिलो पटक देखिएयताको तीन महिनामा विश्भर ४ लाख ६८ हजार ५ सय ७७ जनामा संक्रमण भएको पाइएको छ। यो अवधिमा कोरोना भाइरसका कारण विश्वमा २१ हजार १ सय ८५ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो तीन महिनामा कोरोना भाइरस संक्रमितमध्ये १ लाख १३ हजार ८ सय १७ जना उपचार पश्चात निकोभइ अस्पतालबाट घर फर्केका छन्।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार अहिले विश्वमा ३ लाख ३३ हजार ५ सय ७५ जना कोरोना भाइरस संक्रमितहरु विभिन्न अस्पतालहरुमा उपचाररत छन्। यीमध्ये ३ लाख १८ हजार ६ सय ७८ जनाको अवस्था सामान्य छ भने १४ हजार ८ सय ९७ जनाको अवस्था गम्भीर रहेको छ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका १ सय ९६ देश तथा भूभागमा पुगेको छ। पछिल्ल दिन यो भाइरसको संक्रमितको संख्या चीनमा उल्लेख्य रुपमा घटेको छ भने युरोप, अमेरिका र खाडी राष्ट्रमा तीव्र रुपमा फैलिरहेको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी चीन, इटाली, अमेरिका, स्पेन, जर्मनी, इरान, फ्रान्स, स्वीट्जरल्याण्ड, बेलायत, दक्षिण कोरिया, नेदरल्याण्ड्स, अष्ट्रिया र बेल्जियम प्रभावित भएका छन्।
हालसम्म यो भाइरसका संक्रमितको संख्या सबैभन्दा बढी चीन देखिएको छ। चीनमा हालसम्म ८१ हजार २ सय १८ जनामा यो भाइरसको संक्रमण भएको पुष्टी भएको छ जसमध्ये ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ।

इटालीमा कोरोना भाइरस संक्रमितको संख्या ७४ हजार ३ सय ८६ पुगेको छ। यीमध्ये ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ। अमेरिकामा कोरोना संक्रमितको संख्या ६५ हजार ७ सय ९७ पुगेको छ जसमध्ये ९ सय ३५ जनाको मृत्यु भइसकेको छ।

स्पेनमा पछिल्लो तीन महिनामा ४९ हजार ५ सय १५ जनाको कोरोना भाइरसको संक्रमण देखिएको छ। यीमध्ये ३ हजार ६ सय ४७ जनाको मृत्यु भइसकेको छ। जर्मनीमा पनि कोरेना संक्रमितको संख्या ३७ हजार ३ सय २३ पुगेको छ जसमध्ये २ सय ६ जनाको मृत्यु भएको छ।

इरानमा २७ हजार १७ जनामा कोरोना देखिएको छ। यीमध्ये २ हजार ७७ जनाको मृत्यु भइसकेको छ। फ्रान्समा २५ हजार २ सय ३३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ, जसमध्ये १ हजार ३ सय ३१ जनाको मृत्यु भइसकेको छ।

स्वीट्जरल्याण्डमा कोरोना भाइरसका संक्रमित १० हजार ८ सय ९७ छन्। यीमध्ये १ सय ५३ जनाको मृत्यु भइसकेको छ। बेलायतमा हालसम्म ९ हजार ५ सय २९ जनामा कोरोना भाइरस देखिएको छ जसमध्ये ४ सय ६५ जनाको मृत्यु भइसकेको छ।