कोरोनाको कारण बेलायतका ३७ वर्षे कूटनीतिज्ञको मृत्यु

कोरोनाको कारण बेलायतका ३७ वर्षे कूटनीतिज्ञको मृत्यु

काठमाडौं,१३ चैत

कोरोना भाइरस (कोभिड–१९) संक्रमणले बुधबार बेलायतका ३७ वर्षे कूटनीतिज्ञको मृत्यु भएको छ। मृत्यु हुनेमा वरिष्ठ कूटनीतिज्ञ स्टेभेन डिक रहेका बेलायतको विदेश विभागले जनाएको छ। डिक हंगेरीको बुडापेस्टस्थित बेलायती दूतावासमा नियोेग उपप्रमुखखका रुपमा कार्यरत थिए। ‘स्टेभेनको मृत्युको खबरले म स्तब्ध भएको छु, उनका बाबु स्टेभेन र आमा क्यारोललाई हार्दिक समवेदना व्यक्त गर्न चाहन्छ,’ बेलायतका विदेश सचिव डोमिनिक रब्बले भनेका छन्।

स्टेभेन एकदमै लगनशील कूटनीतिज्ञ रहेको र आफ्नो अद्वितीय दक्षता र धैर्यताले उनले विभिन्न मुलुकमा गएर आफ्नो देशको प्रतिनिधित्व गरेको रब्बले सम्झिएका छन्। डिकले सन् २००८ मा बेलायतको विदेश मन्त्रालयमा काम सुरु गरेका थिए। उनले रियाद र काबुलस्थित बेलायती दूतावासमा रहेर काम गरिसकेका थिए।

आफ्नो दक्षताका कारण डिक बुडापेस्टमा रहँदा हंगेरीका लागि बेलायती राजदूतका मुख्य सल्लाहकार थिए। उनले बेलायतको डिजिटल, कल्चर, मिडिया र खेलकुद विभागमा पनि काम गरेका थिए। डिक दयालु, रमाइलो स्वभाव र उदार भावनाका व्यक्ति रहेका उनका सहकर्मीले जनाएका छन्।

गत डिसेम्बरमा चीनको उहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणले बेलायतमा ८ हजारभन्दा बढी केस देखिएका छन्। जसमध्ये ४ सय ३५ जनाको मृत्यु भइसकेको छ। यसैगरी, युरोपेली मुलुक हंगेरीमा १० जनाको मृत्यु हुनुका साथै २ सय २६ जना संक्रमित रहेका जोन्स हप्किन्स युनिभर्सिटीले जारी गरेको तथ्यांकमा उल्लेख छ।