मौरीपालक किसानलाई आधारभूत तालिम

चितवन, १२ पुष ।
चितवन र मकवानपुरका मौरीपालक किसानलाई मौरीपालन सम्वन्धी आधारभूत तालिम दिईएको छ । राप्ती नगरपालिकाको हर्दिमा रहेको मौरी पालन विकास कार्यक्रम कार्यालयले दुई जिल्लाका किसानलाई मौरीपालन सम्वन्धी ५ दिने तालिम दिएको हो ।

तालिममा मौरीपालनको तरिका, रोग र परिजिवी व्यवस्थापन, मह काट्ने विधि, मौरी स्थानान्तरण र चरणको छनौट, असल मौरी पालन अभ्यास, मौरी गोला समायोजन र विभाजन लगायतका विषयमा किसानलाई प्रशिक्षण दिईएको थियो ।

किसानहरुलाई मौरी पालन विकास कार्यक्रम कार्यालयका प्रमुख डाक्टर शिवप्रसाद रिजाल, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सीना, मौरी विज्ञ किरणचन्द्र रायमाझी, कार्यालयका प्राविधिक अधिकृत बाबुराम पन्त, प्राविधिक प्रविणा श्रेष्ठ लगायतले प्रशिक्षण दिएका थिए ।

पाँच दिने तालिमको आईतवार एक कार्यक्रमका बीच समापन गरिएको छ । समापनका अवसरमा कार्यालयका प्रमुख डाक्टर रिजाल र मौरी विज्ञ रायमाझीले सहभागी किसानहरुलाई प्रमाणपत्र प्रदान गरे । मौरीपालन व्यवसायलाई व्यवसायिककरण गर्ने उदेश्यले प्रत्येक वर्ष सो कार्यालयले तालिम प्रदान गर्दै आएको छ ।