मस्जिदमा आक्रमणपछि ज्यान जोगाउन हिन्दुको घरमा शरण

मस्जिदमा आक्रमणपछि ज्यान जोगाउन हिन्दुको घरमा शरण

एजेन्सी, १५ फागुन ।

मंगलबार मस्जिदमा २० जना मुसलमान धर्मालम्बी प्रार्थना गरिरहेका थिए । एक हजार जनाको समूहले अचानक आक्रमण गर्यो । उनीहरु भागेर ज्यान जोगाए । हिन्दुको घरभित्र छिरे । हिन्दु धर्म मान्नेहरुले उनीहरुको ज्यान जोगाए ।

यो घटना भारतको दिल्लीको हो । जहाँ चार दिनयता दंगा भड्किएको छ । मुसलमानहरुको घर र पसलमा आगलागी गर्ने समूह सक्रिय भएको छ ।
दंगामा मर्नेको संख्या ३४ पुगिसकेको छ । मानिसहरु त्रसित भएका छन् । धार्मिक हिंसाले उग्र रुप लिनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नागरिकतासम्बन्धी ऐन बनाएपछि मोदी सरकारको विरोध भइरहँदा समर्थनमा समेत मानिसहरु उत्रिएपछि हिंसा भड्कन थालेको हो । घटनाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमण समेत ओझेलमा परेको छ ।