दिल्ली हिंसा अपडेटः ज्यान गुमाउनेको सङ्ख्या ३५ पुग्यो, १०६ जना गिरफ्तार

दिल्ली हिंसा अपडेटः ज्यान गुमाउनेको सङ्ख्या ३५ पुग्यो, १०६ जना गिरफ्तार

काठमाडौं,१५ फागुन।

नागरिकता संशोधन कानूनका विषयमा दिल्लीमा भइरहेको हिंसामा मर्नेको संख्या ३५पुगेको छ ।   हिंसाको आगोमा जलिरहेको दिल्लीको उत्तर–पूर्वी इलाकामा नागरिकता कानुनको विपक्षमा प्रदर्शन चलिरहेको छ । प्रदर्शन चर्कँदै जाँदा हिंसाले उग्र रुप लिएको छ । हिंसा फैलाएको भन्दै १८ जनाबिरुद्ध एफआईआर मुद्दा दर्ता गरिएको छ । साथै १०६ जनालाई गिरफ्तार गरिएको छ ।

बिहीबार गगनपुरीमा रहेको एक नालीमा दुई वटा शव भेटिएको छ । गएको बुधबार पनि खजूरी खासको नालीमा आईबी अधिकारी अंकित शर्माको शव भेटिएको थियो । अब दिल्लीमा हिंसामा ज्यान गुमाउनेको सङ्ख्या ३५ पुगेको छ ।

दिल्लीको दङ्गाग्रस्त इलाकामा अझै पनि तनाव छ । गएको बुधबार राति पनि हिंसाका घटनाहरु घटेका छन् । प्रदर्शनकारीहरुले ज्योतिनगरमा अशोक नगर फ्लाइओभर नजिक मोटरसाइकल जलाएका छन् ।

जाफराबाद, मौजपुर, चान्दबाग, गोकुलपुरी र आसपासको इलाकामा शान्ति देखिए पनि अझै डर र त्रासको वातावरण छ । धेरै पसलहरु बन्द छन् भने ढोका र झ्यालमा हिंसाको निसाना देख्न सकिन्छ ।

हिंसा रोक्नको लागि सुरक्षाबलले प्रभावित इलाकामा मार्चपास पनि गरेका थिए । उत्तर–पूर्वी इलाकामा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ छन् । यो इलाकामा सयभन्दा धेरै दमकल तैनाथ गरिएको अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गएको चार दिनदेखि उत्तर–पूर्वी इलाकामा भइरहेको हिंसामा सयौँ घाइते भएका छन् ।