प्रधानमन्त्री ओली अस्पताल भर्ना, आराम गर्न चिकित्सकको सुझाव

प्रधानमन्त्री ओली अस्पताल भर्ना, आराम गर्न चिकित्सकको सुझाव

काठमाडौं,१४ चैत्र ।

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । शरीरमा केही असहज भएपछि उनलाई बिहीबार राति नै महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियो थोरासिक, भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको हो । मुटुको चालमा केही तलमाथि देखिएको भए पनि शुक्रबार स्थिति सामान्य बनिसकेको बताइएको छ । उनको मुटुको चालमा गडबडी भएको थियो ।

टाउको दुख्ने र शरीरलाई असहज महसुस भएपछि उनलाई विहीबार राति नै मनमोहन पुर्याइएको थियो। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको चिकित्सकहरुको भनाइ छ । गत फागुन २१ मा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । चिकित्सकहरुले आराम गर्न सुझाव दिएका छन् ।