कपिलवस्तुमा पोखरीमा डुबेर दाजु-भाइको मृत्यु

कपिलवस्तुमा पोखरीमा डुबेर दाजु-भाइको मृत्यु

कपिलवस्तु,१४ चैत्र।

कपिलवस्तु – कपिलवस्तु नगरपालिका – ८, पूर्व वेलहवामा घर नजिकैको पोखरीमा डुबेर एकै घरका दुई बालकको ज्यान गएको छ ।

स्थानीय तबरेज धुनियाका १२ वर्षीय छोरा सलमान धुनिया र उनका भाइ १० वर्षीय अरमान धुनियाको मृत्यु भएको प्रहरीले जनाको छ ।

विद्यालय किनारमा खेल्न गएका २ भाइ विद्यालय नजिकैको पोखरीको छेउमा खेल्दै गर्दा भाइ अरमान पोखरीमा डुबेको र उनलाई बचाउन खोज्दा दाइ सलमान पनि डुबेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

पोखरी किनारमा ब्याक हु लोडरले गहिरो गरी खनेको र सोही गहिरो स्थानमा दुवै भाइको डुबेर मृत्यु भएको स्थानीय युवा शारुल्लाह मुलसमानले बताए । मृतक दुई भाइको शव पोखरी किनारमा भासिएको अवस्थामा थियो । गाउँले सबै आएर पोखरी चारैतर्फ जमिन मुनी खोजेर मात्रै भासिएको अवस्थामा दुवै भाइको शव निकालेका थिए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ । गाउँ समाजमा कोरोना भाइरसको त्रासमा रहेका बेला आफ्नो परिवारमाथि ठूलो विपत्ति आइलागेको मृतकका परिवारजनले बताएका छन् ।