अत्यावश्यक पसल नखुलेपछि प्रशासनले दियो चेतावनी

अत्यावश्यक पसल नखुलेपछि प्रशासनले दियो चेतावनी

चितवन, १४  चैत ।

अत्यावश्यक सेवा भित्र पर्ने खाद्यान्न पसल नखुलेपछि जिल्ला प्रशासन कार्यालय चितवनले चेतावनी सहितको सुचना जारी गरेको छ । सरकारले लागू गरेको लकडाउनमा यस्ता पसलहरु पनि खोल्न भनेको छ ।

एकाध वाहेक खाद्यान्न पसल खुलेका छैनन् । खाद्यान्नका पनि ससाना किराना पसल मात्र खुलेका छन् । शुक्रवार जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरेको थियो । औषधि,खाद्यान्न,दूध, ग्यास, पेट्रोलियम पदार्थ जस्ता अत्यावश्यक बस्तु तथा सेवाको उत्पादन वा बिक्री बितरण नरोक्न सुचना जारी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी गरिएको सुचनामा उत्पादन तथा विक्रि बितरणमा अबरोध गर्ने संस्था वा ब्यक्तिलाई हदैसम्मको कानुनी कारवाही हुने चेतावनी सुचनामा उल्लेख छ ।

पूर्वी चितवनमा अनुगमनमा आएका जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत कमल आचार्यका अनुसार खाद्यान्न पसल खुलेका छैनन् । शुक्रवार पूर्वी चितवनको रत्ननगर र खैरहनीमा आचार्यको नेतृत्वमा आन्तरीक राजस्व कार्यालय,खैरहनी नगरपालिका र इलाका प्रहरी कार्यालय खैरहनीका प्रतिनिधी सहभागी भएर अनुगमन गरिएको थियो । अनुगमन टोलीमा सहभागी खैरहनी नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर अधिकारीले वजारमा आलुको मुल्य लकडाउन पछि वढेको पाईएको वताए । व्यापारीले एक बोरामा ५ सय देखी एक हजार सम्म नाफा खाएको पाईएकोले त्यस्ता पसललाई पहिलो चरणमा सम्झाईको उनले वताए ।