लकडाउनले बिक्री भएन तरकारी , बारीमै सड्न थालेपछि किसान चिन्तित

लकडाउनले बिक्री भएन तरकारी , बारीमै सड्न थालेपछि किसान चिन्तित

चितवन, १५ वैशाख ।
देशभर जारी लकडाउनको कारण किसानले उत्पादन गरेको तरकारी बिक्री हुन सकेको छैन । चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ का घनश्याम दासले करिब २२ बिगाह क्षेत्रमा लगाएको तरकारी बिक्री नभएपछि बारीमै कुहिन थालेको छ ।

लकडाउनको कारण व्यापारीहरुले तरकारी बिक्री नभएको भन्दै तरकारी खरिद नगर्दा बारीमा लगाएको टमाटर , घिरौला बारीमै सड्न थालेको श्री गणेश कृषि फर्म नेपाल प्रालिका संचालक दासले बताए । बिगत पन्ध्र बर्षयता व्यवसायिक रुपमा तरकारीखेती गर्दै आएका दासले तरकारी बिक्री नभएर संकट परेको यो पहिलो पटक भएको बताए । उनले झन्डै पाँच विगाहामा पाटे घिरौला, ३ विगाहामा घिरौला , १० विगाहामा गोलभेडा र ३ विगाहामा लौका लगाएका छन् । लकडाउनका कारण वजार नपाउँदा खेती गरिएको मध्ये पाटे घिरौला बोटमै छिप्पिन थालेपछि धमाधम टिप्दै फाल्न थालेका छन् ।

करिब दुई विगाहाको गोलभेडा राताम्मे भएर कुहिन थालेको छ । घिरौला,गोलभेडा केहीले पनि वजार पाएको छैन् । लकडाउन हुनुपुर्व नारायणगढ , पोखरा , काठमाडौंको बजारमा तरकारीको राम्रै माग रहेको र मूल्य समेत रहेको तर अहिले तरकारी बिक्री नै नहुदाँ मारमा परेको दासले बताए । लकडाउनले गर्दा तरकारी बिक्रीमा समस्या भइरहेकै बेला आएको हावाहुरी र असिनापानीले समेत उनको वालीमा क्षति गरेको छ ।

अघिल्ला वर्षहरुमा लाखौ रुपैया मुनाफा गर्दै आएका दासले अहिले भने कामदारलाई तलव दिन ऋण खोज्नु पर्ने अवस्थामा पुगेका छन् । उनको फर्ममा ३५ जना कामदार कार्यरत छन् । उनका अनुसार अघिल्ला वर्षहरुमा ३५ लाख रुपैया सम्म मुनाफा भएको थियो । कोरोना भाईरसपछिको लकडाउनका कारण यो सिजनमा झण्डै १ देखी डेढ करोड सम्मको नोक्सानी हुने किसान दासले गुनासो पोखे ।