बैतडी आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

बैतडी आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

बैतडी,१५ वैशाख

जिल्लाका विभिन्न स्थानीय तहले जिल्ला बाहिर रहेका आफ्ना नागरिकलाई फर्काउने निर्णय गरेका छन्। तर बाहिरबाट जिल्ला भित्रिने सबै नागरिकले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्ला बाहिरबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला संयन्त्रको आइतबार बसेको बैठकले जिल्ला बाहिरबाट जिल्ला प्रवेश गर्ने जो कोहीलाई पनि अनिवार्य सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राख्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।

उनले भने, ुजिल्ला बाहिर रहेका समस्यामा परेका नागरिकलाई मात्र जिल्ला भित्र्याउन सबै स्थानीय तहसँग आग्रह गरेका छौं । जिल्ला भित्रिनेले अनिवार्य १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसपछि मात्रै आरडीटी गरेर रिपोट नेगेटिभ आएपछि घर पठाउने निर्णय भएको छ ।ु

जिल्लाका सबै जसो स्थानीय तहले काठमाडौं तथा देशका अन्य क्षेत्रमा रहेका नागरिकलाई जिल्ला भित्र्याउने निर्णय गरेकाले त्यसलाई व्यवस्थित बनाउन समस्यामा परेका नागरिकलाई मात्रै जिल्ला भित्र्याउने र उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्ने शर्तमा जिल्ला भित्र्याउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।

यस्तै लकडाउनका कारण छाक टार्न मुस्किल भएका नागरिकलाई स्थानीय तहहरुले वितरण गर्ने राहत पनि एकरुपता ल्याउनुपर्ने निर्णय भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले बनाएको कार्यविधि बमोजिम एकद्वार प्रणालीमार्फत राहत वितरण गर्नका लागि जिल्ला संयन्त्रको बैठकले सबैमा आग्रह गरेको छ ।

यस्तै जिल्लामा आरडीटी कीटको अभाव भएकाले थप कीटका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग माग गर्ने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, ुहामीले भारतबाट फर्केका सबैको आरडीटी गर्ने भनेका छौं । अब जिल्ला भित्रिनेहरुको पनि आरडीटी गर्नुपर्ने हुन्छ । त्यसैले थप कीट आवश्यक परेकाले हामीले कीट उपलब्ध गराउन प्रदेश सरकारलाई आग्रह गरेका छौं ।ु

सीमापारी रहेका नेपालीलाई स्वदेश फर्काउने विषयमा भने बैठकले कुनै निर्णय गरेको छैन् । स्थानीय स्तरमा तयारी गरिरहेको भएपनि सरकारको निर्णय नआउँदासम्म सीमा पारी रहेका नेपालीलाई फर्काउने विषयमा कुनै निर्णय गर्न नसकिने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए।