कोरोना भाइरसले चीनमा १०६ को मृत्यु , ४ हजार सङ्क्रमित

कोरोना भाइरसले चीनमा  १०६ को मृत्यु , ४ हजार सङ्क्रमित

चितवन, १४ माघ

उत्तरी छिमेकी चीनमा यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ ।

चिनियाँ अधिकारीहरूले नयाँ कोरोनाभाइरसका कारण १०६ जनाको मृत्यु भएको र चार हजार जनाभन्दा बढी सङ्क्रमित भएको बताएका छन् । यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ ।

भाइरस शुरू भएको वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ । चीनभन्दा बाहिर पनि यसको सङ्क्रमण फैलिएको छ र मङ्गलवारसम्म कम्तीमा १६ देशमा ४७ सङ्क्रमणका घटना भएका छन् ।

चीनका केही मुख्य शहरहरूले सार्वजनिक यातायात बन्द गरेका छन् र नयाँ वर्षको बिदा तीन दिन थपिएको छ । अमेरिकाले आफ्ना नागरिकहरूलाई आफ्नो चीन यात्राबारे पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ ।

कोरोना भाइरसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।

अन्य थुप्रै देशहरूले चीनमा यात्रा नगर्न सुझाव दिनुका साथै त्यहाँ फँसेका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन योजना बनाएका छन् । चीनभन्दा बाहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन।

अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ । भाइरस फैलिएपछि विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिएको छ ।