सुर्खेतको वीरेन्द्रनगरमा चल्यो गोली , बुधबार बिहानसम्म कर्फ्यु

सुर्खेतको वीरेन्द्रनगरमा  चल्यो गोली , बुधबार बिहानसम्म कर्फ्यु

सुर्खेत,१४ माघ

सुर्खेतको वीरेन्द्रनगरमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएपछि सुरु भएको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको छ ।

प्रहरीले चलाएको गोली लागेर करिब ६ जना घाइते भएका छन् । उनीहरुको स्थानीय सुर्खेत हस्पिटल र प्रदेश अस्पतालमा उपचार भइरहेको स्थानीय जानकारी दिएका छन् । तर, प्रहरीले गोली चलाएको तथ्य भने अस्वीकार गरेको छ ।

भिडले उग्र रुप लिएपछि नियन्त्रण गर्न आफूहरुले अश्रु ग्याँस र हवाई फायर मात्र गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिल्लीराज पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुुभयो, ‘हामीले त्यसरी गोली हानेका छैनौँ । भिड ठूलो भएकाले घुसपैठ भएको हुनसक्छ । अज्ञात समूहले गोली चलाएको हुन सक्छ । त्यसैले हामीले कर्फ्यु लगाएका हौँ ।’

जिल्ला प्रशासन कार्यालयमा साँझ साढे ६ बजेदेखि भोलिबिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाएको छ । आक्रोशित भएका आफन्तहरुले वीरेन्द्रनगर बजार बन्द गर्नुका साथै टायर बालेर प्रर्दशन गरेका छन्। उनीहरुले वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका सार्वजनिक स्थलहरुमा तोडफोड समेत गरेका छन् ।

बिहान वीरेन्द्रनगरको जुुम्ला रोडमा टिप्परको ठक्करबाट कालिकोट महावै गाउँपालिका(३ का २० वर्षीय केशर सिंहको ज्यान गएको थियो । मृतक सिंह चढेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।

टप्पर चालकलाई कडा कारबाही तथा क्षतिपूर्तिको माग गर्दै आन्दोलन भइरहेको हो । – उज्यालोबाट साभार