बाघको आक्रमणबाट दुई पोथी अर्नाको मृत्यु

चितवन, १३ पुष ।
चितवन राष्ट्रिय निकुञ्जको कोर इलाकामा पर्ने पदमपुर फाँटामा रहेको अर्ना ईन्क्लोजरमा आज दुई वटा अर्ना मृत फेला परेका छन् । बाघको आक्रमणबाट अर्नाको मृत्यु भएको अनुसन्धानले बताएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए ।

दुई वटा माउ पोथी अर्ना मृत भेटिएको उनले बताए । अर्ना इन्क्लोजरमा रहेका १५ वटा अर्ना मध्ये अब १३ वटा मात्र बाँकी छन् । अर्नालाई आक्रमण गर्ने बाघलाई निकुञ्जको प्राविधिक टोलिले नियन्त्रणमा लिएर आज नै निकुञ्जको कोर इलाकामा छाडिएको उनले जानकारी दिए ।

अर्ना ईन्क्लोजरमा पहिलो पटक कोसिटाप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट ३ वटा अर्ना ल्याएर संरक्षण गरिएको थियो । त्यसपछि बाढी, प्राकृतिक कारण र बाघको आक्रमणबाट ६ अर्नाको मृत्यु भएको थियो । पुरानो स्थानान्तरित ७ पोथी र २ भाले अर्ना गरी जम्मा ९ वटा बाँकी रहेकोमा हालसम्म नवजात ६ गरि जम्मा १५ वटा अर्ना इन्क्लोजरमा रहेका थिए ।